खापुङद्वारा राज्यमन्त्री अस्वीकार, को-को बन्दैछन् मन्त्री?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री नबन्ने बताएका छन् । पार्टीले उनलाई राज्यमन्त्री दिने भएपछि त्यो अस्वीकार गरेका हुन् ।

एकीकृत समाजवादीका एक नेताले बताएअनुसार खापुङले आफूले राज्यमन्त्री नलिने बताएका छन् । ‘मन्त्रालयको भागबन्डा मिलाउँदा उहाँ (खापुङ) लाई राज्यमन्त्री पर्‍याे,’ ती नेताले भने, ‘तर, उहाँले नलिने भन्नुभयो । उहाँको चित्त बुझेन ।’

यद्यपि खापुङलाई मनाउने प्रयास पार्टीमा भइरहेको ती नेताको भनाइ छ । ‘उहाँलाई मनाउने प्रयास नेताहरूले गराइरहनुभएको छ,’ ती नेताले भने, ‘सायद उहाँले मान्नुहुन्छ होला भन्ने लाग्छ ।’

खापुङ तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद हुन् । उनले कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए ।

एकीकृत समाजवादीबाट को-को मन्त्री बन्दैछन् ?

एकीकृत समाजवादीबाट मन्त्री बन्नेको नाम टुङ्गो लागेको छ । एकीकृत समाजवादीले आफूले पाउने चार मन्त्रालयमा पठाउने नेताहरूको नाम टुङ्गो लगाएको हो ।

एकीकृत समाजवादीबाट सहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

प्रधान मन्त्री शेरबहादुर देउवाले शुक्रबार (आज) मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् । मन्त्रीहरूको शपथ पनि आजै हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *