साफ च्याम्पियनसिप : माल्दिभ्सको जितसँगै फाइनल समीकरण रोमाञ्चक

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली माल्दिभ्सले बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति भएको खेलमा बंगलादेशलाई २-० ले पराजित गर्दै माल्दिभ्सले फाइनल सम्भावना कायम राखेको हो।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक-एक गोल गरे। खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७४ औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को सहज जित दिलाए।

जितपछि २ खेलमा ३ अङ्क जोडेको छ। माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो।  बंगलादेशको भने यो पहिलो हार हो। यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो। बंगलादेश ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।

माल्दिभ्सको जितसँगै साफको फाइनल समीकरण रोमाञ्चक बनेको छ। नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन्। नेपाललाई अब दुई मध्ये कुनै एक खेल जितेमा दुवै खेल बराबरी गरेमा फाइनल पुग्ने छ।

तर नेपाले दुवै खेल हारेमा र माल्दिभ्सले दुवै खेल जितेमा भने माल्दिभ्स र बंगलादेश फाइनल पुग्न सक्ने छन्। त्यस्तै भारतले पनि बाँकी खेल जितेमा भने भारत र माल्दिभ्सको सम्भावना पनि कायम रहन्छ। यस्तोमा श्रीलंका मात्र प्रतियोगिताबाट बाहिरिएको छ।

यद्यपि नेपाल उत्कृष्ट लयमा रहेकाले बंगलादेश र भारतलाई नेपालविरुद्ध खेल्न सहज हुने छैन। जारी सिजन पाँच टोलीले मात्र सहभागिता जनाएका छन्। राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *