ऋण खोजेर मृत्यु किनेजस्तो लाग्छ : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

सगरमाथाभन्दा पनि धवलागिरि र अन्नपूर्ण चढेपछि सफल भएजस्तो लाग्छ

फोटो पत्रकार पूर्णिमा श्रेष्ठको परिचय अब हिमाल आरोहीको रूपमा फेरिएको छ । त्यतिमात्रै होइन, उनी अब अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि बनेकी छन् । उनले असोज १५ गते धवलागिरिको सफल आरोहण गरिन् ।

पूर्णिमाले सर्वोच्च शिखर सगरमाथासहित किलर माउन्टेन भनेर चिनिने मनास्लु, अन्नपूर्ण प्रथम र आमादब्लम हिमालको सफल आरोहण गरिसकेकी छन् । धवलागिरि दोस्रो प्रयासमा सफल भएकी उनी अरू हिमाल एकै पटकमा चढ्न सफल भइन् । कीर्तिमानी आरोही पूर्णिमासँग मकालुखबरकर्मी प्रकाश ढकालले गरेको कुराकानी :-

फोटो पत्रकारिता गरिरहनुभएको थियो‚ हिमाल चढ्ने परिकल्पना कसरी गर्नुभयो ?
साँच्चै म हिमाल चढ्ने खालको देखिन्नँ । कसैले मेरो साथी हिमाल चढ्ने हो भनेर भन्यो भने यस्तो मान्छे कसरी चढ्न सक्छ भन्छन् । हिमाल चढ्न ‘लुक्स’ पनि छैन, मेरो प्रोफेसन पनि होइन । अझ जात पनि ‘काँतर’ हो रे । बाजेबराजुले कहिल्यै हिउँ छोएको छैन । हिमाल चढ्न मानसिक, शारीरिक र आर्थिक रूपमा सक्षम हुनुपर्ने रहेछ । पैसा त्यत्तिकै खर्च हुन्छ । म सामान्य परिवारको मान्छे । हिमालको बारेमा बुझाउनै सकिँदैन, कसले स्पोन्सर गर्नु ? पहिलो पटक म मनास्लु चढेँ, कुनै अनुभव थिएन । धवलागिरिसम्म आइपुग्दा आर्थिक रूपमा म कमजोर भएँ । इच्छाशक्तिले मात्रै सफल आरोहण गरेको हुँ । मसँग धेरै पैसा भएर चढेको होइन ।

आरोहणको अनुभव सुनाइदिनू न ।
हिमाल चढ्न जाँदा कुन पाइला अन्तिम र कुन श्वास अन्तिम हो भन्ने थाहै हुँदैन । हिमाल चढ्न जाँदा फेरि फर्किन्न जस्तो लाग्छ अनि कसैसँग लिएको सबै पैसा पनि तिरेर जान्छु । तर लक्ष्य लिएपछि मरिन्छ कि भनेर चिन्ता नहुँदो रहेछ । मृत्यु कहिल्यै बाधा बनेन, खुसी छु । पानी तिर्खा लागेको हुन्छ, थकाइ लागेको हुन्छ । कहिलेकाहीँ चाहिँ सोच्छु- ऋण खोजेर काल किन्न पो आएँ कि भन्ने । सापटी पनि म फर्केर तिर्छु भनेर मागेको हुन्छ । त्यतिबेला आफैँ मर्नका लागि पैसा तिरेर आएको हुँ भन्ने महसुस पनि हुन्छ । त्यस्तो गर्दा पनि मलाई पछाडि हट्न मन लाग्दैन । गाह्रो भए पनि टुप्पोमा पुगूँ भन्ने लाग्छ । हिमालमा पाँच पाइला हिँड्छु र रोकिन्छु भन्दा पनि नसकिने रहेछ । प्रत्येक पाइला गनेर हिमाल चढेको छु । जति मेहनत गर्‍यो, उत्ति सफलता हात पर्छ । कुनै कुनै हिमाल त मैले सोचेको पनि थिइनँ । हिमाल चढेर फर्केपछि आफैँलाई सर्प्राइज दिएको जस्तो लाग्छ । मसँग न पैसा थियो, न अनुभव । न कसैले सहयोग गरेको छ । तर‚ म लागिरहेँ र सफल भइरहेँ ।

कहिलेकाहीँ डर लाग्दैन ? आफ्नो मनलाई सोध्नु हुन्न के गरिरहेको छु भनेर ? 
असफल हुँदा नोक्सान धेरै हुन्छ, धेरै पटक रोएँ म । यसपालि पनि सकिन्न कि भन्ने लागेको थियो । तर भाग्यवश सफल भएँ । सामान्य मान्छे बल्ल बल्ल ऋण खोजेर हिमाल जान्छ, त्यो पनि असफल हुँदा फ्रस्टेसन भइहाल्छ । यसपालि पनि म आधा घण्टा रोएँ । सबैको जीवनमा एउटा-एउटा सगरमाथा हुन्छ । त्यो चढ्न गाह्रो हुन्छ । हिमाल भनेको मेरा लागि ऊर्जा हो । हिमाल चढेर आएपछि केही काम पनि असम्भव लाग्दैन । आफैँलाई बलियो महसुस भएर आउँछ ।

उत्साहभन्दा धेरै फ्रस्टेसन लिएर आउनु भयो कि कसो ? 
उत्साह त जति पटक पनि हुन्छ । यो पटक मसँग पैसा थिएन । ऋण खोजेर गएको हुँ । सफल नभएको भए त साह्रै तनाव हुन्थ्यो । सफल भएपनि शेर्पाको र कम्पनीको पैसा कसरी दिने भन्ने चिन्ता छ । तर म तिर्न त तिर्छु । मसँग उमेर छ, हातमा सीप छ ।

एउटा हिमाल चढ्न कति खर्च लाग्ने रहेछ ?
कम्तीमा १५ देखि २० लाख खर्च हुन्छ । हामीजस्तो सामान्य परिवारका लागि त्यो महँगो खर्च हो ।

धवलागिरि आरोहण अघिल्लो पटक पनि असफल हुनुभयो, यो पटक पनि असफल हुने सम्भावना थियो । के कारणले त्यसो भयो ?
मुख्य त मौसम हो । सामूहिक काम सबैभन्दा ठूलो कुरा रहेछ । अरू हिमालजस्तो होइन, धवलागिरि । यो निकै कठिन हिमाल रहेछ । मैले धवलागिरि कहिल्यै पनि राम्रोसँग देखिनँ । सधैँ जसो हिउँ परिहाल्ने, नजिकको भिजुअल पनि नदेखिने । एउटा क्याम्पबाट अर्को क्याम्प जाँदा तत्कालै बाटो बिग्रिने रहेछ । कति पटक त फिक्सिङ टोलीले पनि बाटो बनाउन सकेनन् । ५० दिनसम्म हेली आउँदैन ।

केही भइहाले कसरी रेस्क्यू हुन सक्छ ? यो निकै रिस्की छ । 
सगरमाथाभन्दा पनि धवलागिरि र अन्नपूर्ण चढेपछि सफल भएजस्तो लाग्छ । सगरमाथामा अरू सबै मान्छे जान सक्छन्, तर यी हिमालमा सक्दैनन् । धवलागिरि चढेर आएपछि मख्ख छु म ।

सरकारी सहयोग पनि पाउनुभयो कि ?
पहिले सहयोग पाएको थिएँ । अहिले पाएको छैन । अन्नपूर्ण प्रथम चढ्दा प्रदेश सरकारले ८ लाख दियो । अन्नपूर्ण गाउँपालिकाको पनि सहयोग छ ।

हिमाल आरोहणका अबका योजना के छन् त ?
अब नेपालका ८ हजार मिटरभन्दा माथिका सबै हिमाल चढ्ने योजना छ । कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै सिजनमा चढ्ने सोच गरेको छु । तर आर्थिक समस्या छ । शारीरिक रूपमा त म तयार छु । थकाइ मेटिएको छैन । रेस्ट गरेपछि तयारी थाल्छु । मलाई हिमाल वाक्क लागेको छैन । सबै हिमालमा जान तयार छु ।

धवलागिरि चढ्न कुन सिजन उपयुक्त लाग्यो ?
म अघिल्लो पटक स्प्रिङमा गएको थिएन । सम्भव भएन । यो पटक सफल भयो । यो सिजन चढ्न सजिलो रहेछ । त्यो बेला धेरै हावा चल्ने रहेछ । हिम पहिरोको डर पनि उस्तै हुने । यो सिजनमा हिउँ कम थियो ।

सरकारलाई केही सुझाव ?
कति कुराहरू त सरकारले पनि नजान्ने रहेछ । मिडियाकै मान्छे भएँ, आफ्नै ठाउँ पनि भयो । अन्नपूर्ण चढ्न जाँदा बाटै छैन । बाटो नभएको कुरा सरकारलाई भनेँ । कसैलाई केही थाहा नै छैन । पर्यटन बोर्डमा भनेको छु, धेरै ठाउँमा बस्ने व्यवस्था छैन । अधिकांश आरोही हेलिकोप्टरमा जान्छन् । उतैबाट खाना बनाउने, पानी बोक्ने र भारी बोक्नेहरूसम्म ल्याउँछन् । अनि प्रदेशलाई के फाइदा भयो त ? हिमाल छ भनेर मात्रै केही भयो त ? भएन नि ।  प्रदेशले पनि पहल गरेको छैन । सरकारलाई कुन हिमाल कहाँ पर्छ भन्ने पनि थाहा छैन । त्यहाँको अवस्था बुझ्ने अवस्था त झनै भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.