न्याय खोज्दै पैदल यात्रामा

धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा छन् । उन्नाइसौैँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडौँतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको हत्या भएकाले पीडित पक्षलाई न्याय र आरोपीलाई कारबाहीका लागि दबाब दिन पैदलयात्रामा रहेको बताएका छन् ।
बाँके जिल्ला जानकी गाउँपालिका-२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकको माइती पक्षको आरोप छ । बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकामा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्नुपर्ने बताएको थियो ।
महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी ल्याएका कारण पीडितपक्षको मागबमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अपहरपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
लामो समय अघिदेखि निर्मला हराएकोले उहाँको जग्गा जमिनसमेत सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जिल्लामा प्रहरीले चासो नदिएको आरोप लागाउँदै पीडितपक्ष र महिला अधिकारकर्मीसमेत सिंहदरबार पुगेर माग सम्बोधन गाराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रुबी खानले बताइन् ।
अपहरणसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा २०७७ मंसिर १६ गते दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ थियो ।
पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन् । उण्डाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको तथा लामो यात्राको क्रममा पीडित परिवार र अधिकारकर्मीलाई पैदल यात्रामा सकस भएको देखिन्छ । महिलामाथि भएका हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला नै जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागिएको महिला अधिकारकर्मी खानको भनाइ थियो ।
– रासस








