ग्राहकलाई गाह्रो

एकातिर कोरोना‚ अर्कोतिर महँगी

काठमाडौँ । दशैँको किनमेल सुरु भइसकेको छ । कोरोनाको जोखिमलाई बेवास्ता गर्दै बजारमा उपभोक्ताको भिड दिनानुदिन बढ्दो छ । सामान किनबेचका कारण काठमाडौँका बजारहरू पनि व्यस्तमात्र होइन‚ अस्तव्यस्त नै बन्न थालेका छन् ।

पुराना बजारहरू असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायतका ठाउँमा किनमेलका लागि पुगेका ग्राहकको ठेलाम्ठेलले उकुसमुकुस बनाउँछ । यो भीड देख्दा हामी कोरोनाको जोखिम कालमा छौँ र ? जस्तो लाग्छ ।

किनमेलका लागि भिडभाडमै अघि बढिरहेकी मिना पोख्रेलले एकातिर कोरोनाको डर र अर्कातिर मूल्य बढेको कुराको दोहोरो मारमा परेको सुनाइन् । कोरोनाबाट जोगिन कुनै सतर्कता नअपनाइएकोमा उनलाई डर पनि लागेको छ । ‘कमाइ नभएअनुसार अहिले महङ्गी बढी नै हो । बाहिरबाट सामना नआएको भएर पनि होला’ उनले भनिन् ।

किनमेलमा पोहोरभन्दा केही सहज भए पनि भाउ भने बढेको उनको अनुभव छ । न्युरोडमै किनमेलका लागि पुगेकी सावित्री आले र रेणु आलेले पनि महङ्गी बढेको महसुस गरे । सधैँभन्दा महँगी बढेको महसुस भएको‚ तर कारण चाहिँ थाहा नभएको बताउने उनीहरूले पनि कोरोनाकै कारण हो कि भन्ने शङ्का गरे । ‘कोरोनाको बेला छ, तर खै कसैलाई मतलब नै छैन, ठेलमठेल गर्दैछन् झन् कोरोना बढ्ने डर भयो‚’ रेणुले भनिन् । आफू पनि डराउँदै किनमेलका लागि निस्किएको उनले बताइन् ।

त्यस्तै अनुभव छ निर्मला केसीको पनि । बालाजुबाट किनमेलका लागि न्युरोड पुगेकी केसीलाई पनि सामानको भाउ सुनेपछि महङ्गी धेरै बढेको महसुस भयो । उनले भनिन्, ‘सधैँभन्दा कमाइ कम भएर पनि होला‚ तर यसपटक सामान धेरै नै महँगो लाग्यो, शायद सामान पनि कममात्र आएको होला ।’

के भन्छन् व्यापारी ?
लामो सयमयदेखि न्युरोडमा कपडा पसल गर्दै आएका व्यापारी मोहन भक्तले कोरोना शुरु भएपछि व्यापार राम्रो हुन नसकेको अनुभव सुनाए ।

‘हाम्रो अहिले व्यापार चल्ने सिजन हो । त्यही पनि व्यापार नै छैन’, भक्तले भने, ‘त्यसो त पोहोरको तुलनामा भन्दा २० को १९ चाहिँ भएको छ ।’
कोरोनाले गर्दा सामान पनि कममात्र आएको र व्यापार पनि कम भएको उनले बताए । ‘दशैँ तिहारमा हामी बस्नै पाउँदैन थियो नि, तर अहिले बसेरै दिन बित्दैछ‚’ भक्तको भनाइ छ ।

व्यापारी टंकमाया श्रेष्ठको भनाइ पनि यस्तै छ । न्युरोडमा चहलपहल धेरै रहे पनि व्यापार भने फिटिक्कै नभएको उनले बताइन् । पोहोरभन्दा केही चहलपहल चाहिँ यसपटक बढेको छ ।

यस्तै फेन्सी पसलमा समेत कोरोनाका कारण चहलपहल हुन नसकेको व्यापारी पारु थापाको अनुभव छ । दशैँमा अलि व्यापार हुने भनिएको फेन्सीमा समेत सोचेजस्तो व्यापार हुन नसेकेको थापाले सुनाइन् । ‘ठिकठिकै छ, गत वर्षको तुलनामा त केही ऊर्जा दिने खालको छ‚’ थापाले भनिन् ।

छैन सतर्कता, के भन्छन् विज्ञ ?
दशैँका लागि किनमेल गर्नेको घुइँचो छ । किनमेलको चटारोले कोरोनाको जोखिम छ भन्ने नै बिर्साइदिएको किनमेलका लागि पुगेकाहरू नै बताउँछन् । बजारमा केहीले मात्र सही तरिकाले मास्क लगाएको देखिन्छ । सबैले मास्क लगाएका छैनन् । सामाजिक दुरीको पालना त हुनै सकेको छैन ।

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनः कोरोना हटी नसकेकाले अझै बाहिर निस्कँदा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् । अहिले त झन् डबल भाइरस कोरोनासँगै इन्फ्लुएन्जाको जोखिम पनि कायमै रहेकाले आफू बचेर अरूलाई पनि बचाउन उनले सबैलाई सुझाव दिएका छन् ।

कोरोना भाइरस र एन्फलुएन्जाको लक्षणहरू उस्ता उस्तै हुने भएकाले यी दुवै रोगबाट बच्न मास्क सही तरिकाले र अनिवार्य रूपमा लगाउने, सकेसम्म भौतिक दुरी कायम राख्ने अनि साबुनले हात धोइरहनुपर्ने डा. पुनको सुझाव छ ।

रोग लाग्नभन्दा पहिले नै सावधानी अपनाउँदै चाडबाड राम्रोसँग मनाउन उनको आग्रह छ । किनमेलकै क्रममा भाइरस सेरेर रोग लाग्यो भने दशैँ पनि नराम्रो हुनुभन्दा पहिले नै सतर्कता अपनाएर किनमेल गर्नु बुद्धिमानी हुने उनले बताए । यसैगरी सतर्कता अपनाइएन भने संक्रमणदर बढ्न पनि सक्ने उनको भनाइ छ ।

भिडभाड नगर्न महानगरको पनि आग्रह
काठमाडौँ महानगरपालिकाले वडा वडामा कोरोनासम्बन्धी सचेतना जगाइरहेको प्रवक्ता ईश्वरमान डंगोलले बताए । महानगरका ३२ वटै वडामा पीसीआर परीक्षण पनि भइरहेको उनले जानकारी दिए ।

चोक चोकमा गएर भिडभाड नगर्न अनि मास्क लगाउन, दूरी कायम गर्न माइकिङ गरिरहेको र स्वयम् सुरक्षित हुनेतर्फ व्यक्तिले पनि ध्यान दिनु पर्ने बेला आएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *