प्रचण्डको जिकिर- ‘वर्तमान परिवर्तनको वाहक माओवादी नै हो’

नेपालमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन् । शनिवार (आज) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब समाजवादतिर हिँड्नको लागि नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनु आवश्यक छ । तर, त्यो अनुमोदित हुनुपर्छ, शक्तिशाली हुनुपर्छ ।’

विगतमा एउटै कम्युनिष्ट पार्टी बनाउने र त्यसको नेतृत्वमा समाजवादको बाटो हिँड्ने प्रयास पनि आफूले टन्नै गरेको प्रचण्डको भनाइ थियो । प्रत्येक कम्युनिष्ट एकतामा आफू नै प्रस्तावक बन्दै आएको स्मरण गर्दै प्रचण्डले भने, ‘हाम्रो यात्रा समाजवाद भनेका छौँ हामीले । अब त्यसरी जान विशाल र शक्तिशाली वामएकता हुनु आवश्यक छ । तर, हामीले जसरी केही वर्षअघि प्रयास गर्यौँ । आएर त्यो असफल भयो । अब पुनः यसैगरी जानुपर्छ ।’

प्रचण्डले नेपाली जनतामा कम्युनिष्टप्रति विश्वास रहेको जिकिर गरे । ‘नेपालमा कम्युनिष्टलाई धेरै विश्वास गरेका छन्,’ प्रचण्डले भने, ‘यी विश्वासहरूलाई अब केन्द्रकृत गर्नुपर्छ । सबै मिलेर यसलाई एक बनाउनुपर्छ । यसो गरियो भने भोलि इतिहासले मूल्याङ्कन गर्छ ।’

यसैगरी प्रचण्डले वर्तमान परिवर्तनको वाहक माओवादी नै भएको जिकिर गरे । ‘अहिलेको वरिवर्तनको वाहक त माओवादी नै हो नि,’ प्रचण्डले भने, ‘यो एजेण्डा स्थापित गर्ने नै माओवादी हो । अरू कुन चाहिँ राजनीतिक दलले गरेको थियो ? एमालेसुद्धले त्यो स्वीकार्दैन । ओलीजीले पनि स्वीकार्दैनन् ।’

संघीयतादेखि संविधानसम्मको परिवर्तन माओवादीमय भएको प्रचण्डको भनाइ थियो । ‘यो चाहिँ एउटा संयोग पनि भनौँ । सबै परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेँ म आफैंले पनि । त्यसमा तपाईंहरूको साथ रह्यो । त्यसो भएको हुनाले सबै परिवर्तनमा माओवादीले ठूलो भूमिका खेलेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *