न तुइन रह्यो न पुल बन्यो, दशैंको मुखमा खाद्यान्न अभाव

 धनगढी । दार्चुलाको ब्यास गाउँपालिकाका वडा नम्बर २ मालघाटस्थित तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएयता उक्त तुइन बन्द गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को आँखा छलेर लुकिछिपी लगाइने तुइन पनि सो घटनापछि पूर्ण रूपमा बन्द भएको हो।

एसएसबीले तुइन काटिदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएपछि एसएसबीले अहिले थप कडाइ गरेको छ । त्यस अघिसम्म स्थानीयवासी तुइनबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा पुग्थे ।

अहिले तुइन पूर्ण रूपमा बन्द भएपछि सदरमुकामसँग स्थानीयको सम्पर्क टुटेको छ । वडा नम्बर २ का स्थानीयलाई सदरमुकाम जान परे पनि अहिले ९ घण्टा पैदल र आधा घण्टा गाडीको बाटो भएर १० घण्टामा सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

निर्माणको क्रममा रहेको खलङ्गा तिंकर सडक पनि निर्माण सम्पन्न नहुँदै पहिरोले अवरुद्ध बनेको छ । स्थल मार्ग हुँदै यातायातका साधन पुग्ने सम्भावना नभएपछि ब्यास गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा खाद्यान्न अभाव भएको छ । त्यसमध्ये पनि वडा नम्बर २ मा खाद्य सङ्कट गहिरिएको छ ।

यसअघि उक्त वडामा हेलिकप्टरमार्फत ४० क्विन्टल चामल ढुवानी गरिए पनि त्यो पर्याप्त भएन । परिवारको सदस्य सङ्ख्या हेरेर एकदेखि डेढ कट्टाका हिसाबले स्थानीयलाई चामल वितरण गरिएको थियो । ‘मैले पनि डेढ कट्टा चामल पाएको हुँ,’ स्थानीय कल्याणसिंह धामीले भने, ‘अब सकिनै लागिसक्यो । बालबच्चा कसरी पाल्ने भइरहेको छ । आयस्रोत केही छैन ।’

यसअघि तुइन चलाएर परिवार चलाइरहेका धामी अहिले बेरोजगार बनेका छन् ।  ‘नेपाल सरकारले हाम्रो लागि केही गर्दैन हजुर,’ उनी दुखेसो पोख्दै भन्छन्, ‘भारत नभई हाम्रो केही चल्दैन । कम्तीमा अहिलेको लागि मात्रै भए पनि तुइन चलाउने बाटो भए पनि हुन्थ्यो ।’

तीन वर्षदेखि बन्ने भनेको पुल अहिलेसम्म नबनेको भन्दै उनले भने, ‘अब पुल छिटो बनाइदिन भनिदिन पर्‍यो हजुर । यहाँ बाँच्न गाह्रो भइसक्यो । पुल बन्दासम्म तुइन चलाउने वातावरण भएको भए हुन्थ्यो ।’

वडा नम्बर २ का अध्यक्ष वीरेन्द्रसिंह बुढाथोकीले धेरै आग्रह गरेपछि सदरमुकामबाट बल्ल ४० क्विन्टल चामल मात्रै आएको बताए । उनले त्यतिले मात्रै स्थानीय बासिन्दालाई पर्याप्त नभएको बताए । ‘दुई/तीन महिना अघिदेखि आउँछ–आउँछ भन्दा भन्दै बल्ल ४० क्विन्टल चामल आयो,’ उनले भने, ‘फेरि पठाउँछौँ भनेका छन्, कहिलेसम्म आउँछ हेरौँ ।’

उनले गाउँमा खाद्यान्न अभाव भइसकेको बताए । दसैँको मुखमा पनि चामल पुर्‍याइएन भने गाउँमा झन् खाद्यान्न अभाव उनको भनाई छ । ‘यसअघि कम्तीमा स्थानीयले तुइनमा झुन्डिएर भए पनि भारतबाट आफूलाई चाहिने सामान ल्याएर चलाएका थिए,’ उनले भने, ‘अहिले न तुइन रह्यो, न पुल बन्यो । सरकारले पनि हाम्रो पीडा बुझ्न सकेन ।’

खलङ्गा–तिंकर सडक पनि अवरुद्ध हुँदा सदरमुकाम आउन मात्रै एक दिनभरि लाग्ने गरेको उनले बताए । बिहीबार मात्रै नेपाली काँग्रेस दार्चुलाले महाकाली नदीमा तुइन विस्थापन अन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।  व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने माल घाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग गरिएको छ ।

२०७८ साउन २८ गते सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे/रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पौष मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । महाकाली नदी वारपार गर्न व्यास गाउँपालिका २, ३ र ४ का नागरिकको लागि अहिले तुइन छैन ।

भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन दार्चुला तिंकर सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध छ । सडक बाटो घाटो नभएपछि अहिले यहाँका नागरिक खलङ्गासम्म पुग्न सकेका छैनन् ।

यो क्षेत्रमा तत्कालीन केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । जसअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो ।

२०७६ मा ब्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्गे पुल निर्माण गर्न बोलपत्र आह्वान भएको थियो । जसअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट र मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन् । समयमै पुल निर्माण नहुँदा ब्यास गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *