अलिकति कुरा उनीहरूका सुनौँ‚ अलिकति कुरा उनीहरूलाई सुनाऔँ

काठमाडौँ । अन्य व्यक्तिजस्तै जेष्ठ नागरिकले पनि आफूलाई आदर-सम्मान गरुन् भन्ने चाहना राख्दछन् । जेष्ठ नागरिक पनि परिवार आफूसँगै होउन्‚ सबै सदस्य आफूसँगै बसुन सुखदुःखका कुरा गरुन्, केही सुनून् केही सुनाउन्, आफ्ना अर्तिबुद्धि मनमा गुनून् र त्यसैअनुसार अघि बढून् भन्ने चाहन्छन् ।

आफूसँग दुई वचन मिठो बोलून् अनि जे-जस्तो पाकेको छ घरमा त्यो प्रेमले बाँडून् भन्ने आशा राख्छन् । नातीनातिनाहरूसँगै रमाउन चाहन्छन् । सबैले आफूले भनेका कुराहरू सुन्दिऊन् र आफुले सिकाएको संस्कारमा हिँडून् भन्ने चाहना राख्दछन् । घरपरिवारमै नभएको खानेकुरा खुवाउन वा आफू ऋणमा डुबेर आफूलाई मिठो मिठो खुवाऊन् वा राम्रो राम्रो लगाउन दिऊन् वा उनीहरू भोकै बसेर मलाईमात्र खुवाऊन् भन्ने चाहना कहिल्यै पनि ज्येष्ठ नागरिकको हुँदैन ।

बरु आफू भोकै भएर पनि आफ्ना सन्तानहरूले खाऊन्‚ उनीहरु अघाऊन् र खुसी बनून् भन्ने नै चाहना हुन्छ बा-आमा वा हजुरबा हजुरआमाको ।

तर उनीहरूको यो चाहना पूर्ण रुपमा पूरा हुन अहिलेको युगमा र यो परिस्थितिमा सम्भव देखिँदैन ।

बरु आफूले जीवनमा गरेका उपलब्धि वा कामहरूबारे सोधिखोजी गरिदिऊन् । ती काम कसरी गरियो भन्नेबारेको अनुभव सोधून् र त्यसबाट शिक्षा लिऊन् भन्ने मनमा चाहना हुन्छ ।

केही गर्नुअघि कसो गरौँ भनेर आफूलाई केही सोधे भने वा कतै जानुअघि आशिर्वाद माग्न शिर निहुर्‍याए भने घरमा मीठो बोलीमात्र दिए भने लाख मान्छन् ज्येष्ठ नागरिक ।

तर उनीहरूको यो चाहना पूर्ण रुपमा पूरा हुन अहिलेको युगमा र यो परिस्थितिमा सम्भव देखिँदैन ।

किनभने नयाँ पुस्ताले पनि त आफ्ना चाहना, लक्ष्य, उद्देश्य र आवश्यकताहरू पूरा गर्नुपर्छ । त्यसका लागि सधैँ घरपरिवारमै बसेर मात्र सम्भव छैन । आफ्नो घर, परिवार गाउँ छोडेर हिँड्नुपर्ने हाम्रा बाध्यताहरू एकातिर छन् । अर्कातिर बढ्दो प्रविधिको युगका कारण पनि अहिले जेष्ठ नागरिक आफूलाई एक्लो महसुस गर्छन् ।

नेपाल सरकारले जहिले पनि बुढाबुढी भनेका दयामायाका पात्र मात्र सम्झने गरेको छ ।

परिवारका सदस्यहरू घरमा बसेर कुरा गर्नेभन्दा पनि मोबाइलमा धेरै समय बिताउने भएकाले उनीहरू एक्लो र एक्लिएको महसुस गर्छन् । आफूलाई कसैले मतलब गर्दैन, कसैले केही सोधिखोजी गर्दैन, आफूलाई वास्तै गर्दैनन् भन्ने भावले ग्रस्त हुन्छन् । मलाई कसैले केही सोधेन वा केही विषयमा चासो राखे तपाईँलाई थाहा छैन भनिदिने वा झर्को-फर्को गरिदिने हो भने ज्येष्ठ नागरिले आफूलाई एक्लो र हेलामा परेको पात्रका रुपमा बुझ्न थाल्छन् ।

|तस्बिर श्रोतः गौतमको फेसबुकबाट|

एउटा मानिसलाई खुसी हुन जे जे गर्न मन लाग्छ‚ ती सबै रहर ज्येष्ठ नागरिकमा पनि हुन्छन् ।

आफूलाई मन लागेको परिकार खान पाए, घुम्न जान पाए हुन्थ्यो भन्ने हुन्छ । तर सबै रहरहरू त पूरा कहाँ हुन्छन् र त्यसमा ज्येष्ठ नागरिकले पनि कम्प्रमाइज गर्नु परिरहेको हुन्छ ।

ज्येष्ठ नागरिकका धेरै चाहनामध्ये समाजलाई केही दिन पाए हुन्थ्यो भन्ने चाहना पनि स्वभाविक रुपमा हुन्छ । जीवनको अन्तिम फेदमा केहि दिएर जान पाए हुन्थ्यो यो समाजमा भन्ने खालको सोचाइ आउँछ नै । तर त्यो दिनलाई हाम्रो समाजमा सबैतिरबाट बन्देज लगाइएको छ । ६० वर्षभन्दा माथिका कुल जनसख्यामध्ये झण्डै ५० प्रतिशत नागरिक निरक्षर छन् । अक्षरहरू चिन्दैनन् । अझ महिला त ९० प्रतिशतले अक्षर चिन्दैनन् । अहिलेको समाजमा अक्षर नचिनिकन बाँच्न ग्राहो छ । त्यसैले जेष्ठ नागरिकलाई उपयुक्त शिक्षा नभएको हुँदाखेरि उनीहरूलाई समाजमा चाहेर पनि सक्रिय हुन पाएका छैनन् ।

अर्कातिर उनीहरुमध्ये एकदमै थोरैसँग आफ्नो नाममा पैसा हुन्छ । जसले पनि उनीहरुले गर्न चाहेको काम वा दिन चाहेको योगदान अधुरै रहेको छ ।

नेपाल सरकारले जहिले पनि बुढाबुढी भनेका दयामायाका पात्र मात्र सम्झने गरेको छ ।

यिनीहरुलाई ज्येष्ठ नागरिक भत्ता दिए पुगिहाल्छ नि भन्ने खालको मानसिकता छ । र त्यसै गर्दै पनि आइरहेको छ । यो गलत सोचाइ हो । जेष्ठ नागरिक भनेको दयाभावका पात्र मात्र होइनन् । उनीहरुबाट नयाँ पुस्ताले सिक्नुपर्ने र लिनुपर्ने धेरै कुराहरु छन् ।

तर त्यो दिन सक्ने बनाउन उनीहरुलाई आधारभूत शिक्षाको आवश्यकता पर्दछ । जस्तोः केहि कुरा फेसबुकमा हेर्न अनि राम्रा कुरा सेयर गर्न वा आफूलाई लागेका कुरा लेख्न, यस्तै पत्रपत्रिका अनलाइन पढेर कमेन्ट गर्न सक्ने हुन, अथवा कतै गएर उपयोगी काम गर्न शिक्षा त जरुरी नै हुन्छ ।

हाम्रा धेरै जस्तो ज्येष्ठ नागरिक ग्रामीण भेगमा बस्दछन् । ग्रामीण भेगमा ,शिक्षा, रोजगारीलगायत धेरै अवसर छैनन् । त्यसकारणले हाम्रा युवा गाउँ छाडेर शहर, विदेश जान बाध्य छन् । त्यस्तो भएपछि परिवार थोरै हुन्छ । एकल परिवार हुन्छन् । त्यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई उनीहरुले चाहेअनुसारको हेरविचार तथा स्याहार गर्नुपर्ने काम थोरैलाई आइलाग्छ ।

अझ कतिपय अवस्थामा त कुनै पनि मानिस हेरचाह गर्ने नै नभएको अवस्था पनि हुन्छ ।

आयआर्जन पनि गर्नुपर्ने अनि ज्येष्ठ नागरिकको हेरविचार पनि गर्नुपर्ने भएकाले ज्येष्ठ नागरिक एउटा बोझको रुपमा पनि रहने गरेका छन् । त्यस्तो भएपछि ज्येष्ठनागरिकप्रति दुर्व्यवहार हुने, उनीहरुलाई उनीहरुको चाहनाअनुसारको उचित खानपान तथा हेरचाहको व्यवस्था नपूग्ने, गर्दाखेरि जीवनको अन्तिम क्षणमा चाहिँ आफ्नो इच्छा रहरहरुको सुनुवाइ नभएपछि काल कुरेर बढो दुःखका साथ बस्नुपर्ने अवस्था पनि आउँछ ।

|तस्बिर श्रोतः गौतमको फेसबुकबाट|

त्यसका लागि नेपाल सरकार स्थानीय निकाय तथा परिवार समाजले सक्रिय भएर लाग्नुपर्ने हो । अर्कातिर अहिलेको पुस्ता र ज्येष्ठ नागरिका कुरा विचार र तौरतरिका नमिल्दा पनि अप्ठ्यारो पर्न सक्दछ । युवा अवस्थाका लागि खानेकुरा नै फरक होलान्‚ अनि ज्येष्ठ नागरिकलाई फरक प्रकारको खाना खान मन लाग्ला यहाँ नेर पनि फरकपना आउँछ । घरमा खाना बनाउने मानीसलाई पनि डबल खाना बनाउनुपर्ने भयो भने पनि झ्याउ लाग्ला, नभ्याउला । यसले पनि जेष्ठ नागरिकको चित्त दुख्ने भयो । अर्कातिर अहिले सबैले काम गर्ने चलन आएको छ । यसले गर्दा घरमा ज्येष्ठ नागरिक एक्लै हुन्छन् । घरमा एक्लो महसुस हुँदा पनि ज्येष्ठ नागरिकले हेपिएको महसुस गर्छन् ।

यसकारण ज्येष्ठ नागरिकका आधारभूत आवश्यकतालाई ध्यान दिई उनीहरुको इच्छा चाहनालाई सम्मान गर्न जरुरी छ । धेरै पनि पर्दैन, अलिकति समय उनीहरुका लागि छुट्याउने‚ अलिकति कुरा उनीहरुका पनि सुनिदिनेमात्र गर्न सके पनि ज्येष्ठ नागरिकले आफूप्रति सम्मान महसुस गर्नेछन् । र वास्तवमा उनीहरुको खुसी र सम्मान नै सन्तानले कहिँ कतै खोजेर वा किनेर नपाउने खुसी हो ।

(ज्येष्ठ नागरिकको अधिकारको क्षेत्रमा कार्यरत गौतमसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *