एमाले विधान महाधिवेशन

पोखरेलले औंल्याए एमालेमा यी समस्याहरू

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेमा गुटबन्दी फस्टाउँदै गएको बताएका छन् । शुक्रबार (आज) देखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको पहिलो विधान महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले ५२ पृष्ठ लामो संगठनात्मक प्रतिवेदन पेस गरेका छन् । जहाँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद (जबज) नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको उल्लेख गरिएको छ ।

जबजका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै प्रतिवेदनमा एमाले कार्यकर्ताहरूमा पछिल्लो समयसमयमा कुनै मापदण्डबिनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यताबापत्को शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरिएको छ । महासचिव पोखरेलले यसैकारण एमालेमा अराजकता देखिँदै गएकोसमेत बताएका छन् ।

ईश्वरले औंल्याएका समस्याहरूः

  • नेता/कार्यकर्ताहरूलाई अध्ययन र प्रशिक्षण अभाव
  • पार्टीले तय गरेको मापदण्ड पालना अभाव
  • पार्टी संरचना अत्यधिक ठूलो हुँदा सञ्चालनमै जटिलता
  • पार्टीमा योगदान दिने नेता/कार्यकर्ताको उचित मूल्याङ्कनको अभाव
  • पारदर्शीता, असल आचरण र निष्पक्षताको अभाव
  • पार्टी काममा दोहोरोपन हुँदा संगठन प्रभावकारी भएन
  • कार्यविभाजनमा समस्या
  • पार्टी आदर्श र व्यवहारमा अन्तरविरोध/असन्तुलन
  • व्यक्तिको क्षमता र योग्यता अनुसारका जिम्मेवारी नदिने समस्या
  • पार्टी जनपरिचालन र समन्वय नहुँदा जटिलता
  • पार्टीसम्वद्ध जनसंगठनबीच समन्वय अभाव
  • पार्टी जीवनमा लोकतान्त्रिकरणको सिर्जनात्मक अभ्यास अभाव
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *