थाकेको भन्दै गेलले छाडे आईपीएल

काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) को अहिले फेज-२ चलिरहेको छ । शुक्रबार पञ्जाबले कोलकातासँग खेल्ने कार्यतालिका रहेको थियो । उक्त खेलअघि पञ्जाबका स्टार ब्याट्सम्यान क्रिस गेलले आईपीएल नखेल्ने निर्णय गरेका छन् । उनले बायो-बबलका कारण धेरै थाकेको भन्दै अब आईपीएलबाट बाहिरिने बताए ।

उनले भने‚ ‘बायो-बबलमा हुने थकानका कारण यो निर्णयमा पुगेको छु । मलाई सहयोग गरेकोमा पञ्जाबलाई धन्यवाद दिन चाहन्छु ।’ गेलले भने । उनी सीपीएलबाट सिधैँ आईपीएलमा आएका थिए । अब केहि समयपछि विश्वकप सुरू हुने भएकाले गेल केहि सयम आराम गर्ने मनस्थितिमा पुगेका हुन् ।

जुनयता बायो-बबलमा गेल
गेल जुनयता निरन्तर बायो-बबलमा छन् । पहिलो घरेलु सिरिजका क्रममा अस्ट्रेलिया, दक्षिण अफ्रीका तथा पाकिस्तानविरुद्ध टी-२० अन्तरराष्ट्रिय खेलेका थिए । त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेले भने त्यसलगतै आईपिएलमा व्यस्त भए । आईपीएल सकिनासाथ पुनः टी-२० विश्वकप खेल्नुपर्ने भएपछि उनी त्यसअघि रिफ्रेसमेन्टका लागि आईपीएल छाड्ने निर्णयमा पुगेका हुन् । गेल तुलनात्मक रुपमा मनोरञ्जन गर्न रुचाउने भएकाले पनि उनी विश्वकपअघि मूड फ्रेस गर्ने मनस्थितिमा पुगेका हुन् ।

गेलले यो वर्ष ३७ टी-२० खेल खेलेका छन् । उनी यो सिजनमा चार टीमको सदस्य बने । उनले वेस्ट इन्डिज, सेन्ट किड्स एन्ड नेभिस प्याट्रियट्स, क्वेटा ग्लाडिएटर्स र किंग्स ११ पञ्जाबबाट खेलिसकेका छन् । आईपीएलमा उनले पञ्जाबबाट २ खेल खेलेका छन् । गेलभन्दा अघि बेन स्टोक्सले बायो-बबल्सको कारण ब्रेक लिएका थिए । उनले मानसिक स्वास्थ्यको कारण देखाउँदै भारतविरुद्धको टेस्ट सिरीजबाट समेत नाम हटाएका थिए ।

त्यस्तै किरन पोलार्ड, आन्द्रे रससेल डेभिड वार्नर लगायतले पनि बायो-बबल्सका कारण इंग्ल्यान्डमा भएको द हन्ड्रेडबाट नाम फिर्ता लिएका थिए ।

के हो बायो-बबल्स?
बायो-बबल्स कोरोना महामारीपछि सर्वाधिक बढी प्रयोगमा आएको संरचना हो । जहाँ खेलाडीलाई बाहिरि दुनियासँग सम्पर्कमा रहन बन्देज हुन्छ । अर्थात् खेलाडी एउटा सर्कलभन्दा बाहिर जान पाउँदैनन् । उनीहरू होटलदेखि मैदान र मैदानदेखि होटलमा नै सीमित हुनुपर्ने हुन्छ ।

एक प्रकारले ‘बेलुनभित्र’को अवस्था हो । जसले गर्दा खेलाडी मानसिक र शारीरिक रुपमा स्वतन्त्र हुँदैनन् । कतै घुम्न जानसमेत नपाउने भएकाले कोरोना काल खेलाडीका लागि मानसिक समस्याको कारण बन्दै गएको बताइन्छ । बायो-बबल्सकै कारण कतिपय खेलाडीहरुले महत्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने भन्दै छोड्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *