पोखरलाई हराएसँगै चितवन प्लेअफमा

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को प्लेअफमा पुगेको छ । शुक्रबार टीयू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा चितवनले पोखरामाथि ९ विकेटले प्रभावशाली जित निकाल्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनामात्र बनाएको थियो । पोखराका लागि विवेक यादवले ४५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५३ रनको अविजित ईनिङ खेल्दा कमजोर स्कोरबाट पोखरा केहि माथि उठे पनि चितवनलाई रोक्न पर्याप्त स्कोर भएन ।

जवाफमा चितवनले ओपनर मोहम्मद शाहजाद र नेपाली युवा ब्याट्सम्यान भीम सार्कीको शतकीय साझेदारीमा सहज रुपमा लक्ष्य पूरा गर्‍यो । जवाफमा चितवनले १६.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चितवनका ओपनर मोहम्मद शाहजाद ५२ बलमा ७ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । त्यस्तै भीम सार्कीले ४२ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । उनीहरूले दोस्रो विकेटका लागि १ सय २२ रनको नटआउट साझेदारी गरे ।

पोखराले आफ्नो पहिलो खेलमा भैहरवासँग वर्षाका कारण अङ्क बाँडेको थियो । दोस्रो खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरे पनि तेस्रो खेलमा भने चितवनसँग पोखरा पराजित भयो ।

यसअघि चितवनले आफ्नो पहिलो खेलमा विराटनगरलाई २ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भैरहवासँग वर्षाले खेल प्रभावित भएपनि उक्त खेल सोमबार पुनः खेलाइनेछ । दोस्रो खेलमा चितवनले काठमाडौँलाई ३ विकेटले पराजित गरेको थियो । शुक्रबारको दोस्रो खेलमा जित निकालेसँगै लिग अङ्क तालिकामा चितवन ३ खेलबाट ६ अंक बनाउँदै प्लेअफमा पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *