आहार विहार र विचार मुटु जोगाउने तीन तत्त्व

मुटुका धेरैजसो रोगहरू मानिसको जीवनशैलीसँग सम्बन्धित छन् । मुटुका रोग लाग्ने कारणहरूमध्ये ८० प्रतिशत कारण चाहिँ जीवनशैलीसँग सम्बन्धित हुन्छन् । जीवनशैली खराब भएपछि मुटुसम्बन्धी समस्या हुने भएकाले जीवनशैलीमा ध्यान दिनुपर्दछ ।

जीवनशैली अस्वस्थ भयो भने मुटुसम्बन्धी विभिन्न रोगहरू लाग्दछन् । उच्च रक्तचाप, कोलेस्ट्रोल, हृदयाघात, मधुमेहजस्ता रोगहरू सबै जीवनशैलीसँगै सम्बन्धित छन् । मुटु रोगबाट बच्न जीवनशैलीलाई मर्यादित र स्वस्थ बनाउनेतर्फ नै लाग्नुपर्दछ । जीवनशैलीका तीन महत्त्वपूर्ण पक्ष छन् ।

आहार‚ अर्थात् खानासँग सम्बन्धित पक्ष, विहार अर्थात् शारीरिक गतिविधिसँग सम्बन्धित पक्ष र विचार अर्थात् मानिसको सोच-विचारसँग सम्बन्धित पक्ष । पहिलो, अस्वस्थकर खानेकुरा खायो भने मुटुमा रोग लाग्दछ । रोग नै नलागेको मानिसलाई पनि खानेकुरामा गडबड भयो भने रोग लाग्छ ।

धेरै तताएका र  चिल्लोमा पकाएका खानेकुराहरू, तयारी खानेकुराहरू, बेकरी आइटमहरूले मुटु बिगार्दछ । त्यस्तै प्याकेट र बट्टाका जङ्क फुड, बोतलमा प्याक भएर आएका पेय पदार्थ पनि मुटुका लागि एकदमै हानिकारक हुन्छन् । आइसक्रिम, धेरै गुलियो अथवा केक, चकलेटलगायत खानै नहुने भन्ने त होइन‚ तर बढी खानाले मुटुरोग निम्त्याउँछ । मुटुलाई हानी गर्ने यस्ता सबै खालका खानेकुराबाट मुटुलाई जोगाउन सक्नुपर्दछ ।

अर्कोतिर मानिसमा अहिले मानसिक तनाव धेरै छ । मानिसको जीवनशैली तनावग्रस्त छ । जति धेरै तनावमा बस्यो‚ त्यति धेरै रोगहरू लाग्छन् । सुगर बढ्छ, हातखुट्टा दुख्छ, त्यसैले मानिस तनावमा बसिरहन हुन्न । तनावबाट मुक्त हुनुपर्छ । केही तनाव छ भने पनि त्यसको समाधानको उपाय खोज्नुपर्दछ ।

मुटुका मित्र
मुटुका लागि गेडागुडी, फलफूल, हरियो सागसब्जी, बोक्रा नफालेका अन्नले एकदमै राम्रो गर्दछ । आँटो, खस्रो चामललगायत अन्न जति खस्रो भयो मुटुलाई त्यति फाइदाजनक हुन्छ ।

मुटुलाई जोगाउन खानेबानीमा पनि सुधार गर्नुपर्दछ । खाना धेरै खान हुँदैन,थोरै खानुपर्दछ ।मोटाउने गरी खाना खानुहुँदैन । साथै गुलियो र चिल्लो कुरा कम खानुपर्दछ ।

मुटुको सुरक्षाका हिसाबले हेर्ने हो भने चुरोट, सुर्ती, रक्सीजस्ता कुरा छुनै नहुने कुरा हुन् ।

शारीरिक रूपमा जति सक्रिय रह्यो मुटु त्यति नै बलियो हुन्छ । कम्तीमा पनि दिनमा ३० मिनेट हिँड्नुपर्दछ । ३० मिनेटको व्यायाम अनि हिँडाइले मात्र पनि मुटुलाई बलियो बनाउँछ । यस्तै व्यायाम मुटुका लागि फाइदाजनक अभ्यास हो ।

मानिसले हिजोआज जीवनशैलीको बारेमा विचार गर्दैनन् । गाडी चढ्ने, बाइक चढ्ने, हिँडेरै पुगिने ठाउँमा पनि नहिँड्ने बानी परेको छ । तर‚ स्वस्थ मुटुका लागि हिँड्ने बानी गर्नुपर्दछ ।

जीवनशैलीका आहार विहार र विचार तीन पक्षमा सुधार गर्‍यो भने स्वस्थ भइन्छ । धेरै रोगबाट हामी बच्न सक्छौँ । मुटुका रोग धेरैजसो लक्षणहरू हुँदैनन् । लक्षणहरू नहुने भएकाले मानिसलाई थाहा हुँदैन । त्यसैले नियमित रूपमा स्वास्थ्यको जाँच गर्नुपर्दछ ।

पहिलेको तुलनामा मुटुका रोगी बढेका छन् । पछिल्लो २० वर्षमा मुटुरोगी ३ गुणाले बढेका छन् । उच्च रक्तचापका बिरामी पनि त्यतिकै बढेका छन् । खानपान बिग्रँदै जानु, जीवनशैली परिवर्तन हुनु, तनाव बढ्नुजस्ता कारणले यी रोगहरू बढेका हुन् ।

मुटु रोगीले ध्यान दिने कुराहरू

मुटु रोग लागि हालेमा धेरै कुरामा ध्यान दिनुपर्दछ ।

-जीवनशैली राम्रो बनाउने कुरामै मुख्यतः जोड गर्नुपर्छ । खानपान, आहार विहार, व्यायाममा ध्यान दिनुपर्दछ ।

– धूम्रपान र मद्यपान गर्नै हुँदैन ।

– औषधी उपचार राम्रोसँग गर्नुपर्दछ ।

– मुटु रोगीलाई कोरोना भयो भने गाह्रो हुने भएकाले भ्याक्सिन लगाउन पर्छ ।

– समय समयमा जाँच गर्नपर्छ ।

– नियमित उपचार र जीवनशैलीलाई स्वस्थ राख्ने काम गर्नुपर्दछ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीसँगकाे कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *