मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । विराटनगरका व्यापारीले तयार पारेको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउदै समुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मेरो देश, मेरै उत्पादनको अभियानको प्रारम्भ गरेका थिए ।

अभियानअन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धता पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवर्द्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहेको प्रतिबद्धता जनाइन् ।

राष्ट्रपति भण्डारीले यो अभियानमा ठूला उद्योगहरुसँगै स-साना लगानीमा सञ्चालित वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरूको उत्पादनलाई समेत समेट्न सुझाव दिइन् । कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्योगलाई समेट्दा देशव्यापी रुपमा यस अभियानले सार्थक तुल्याउने बताइन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयुक्त प्रतिनिधि मण्डलले मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो हस्तान्तरण गरेको हो ।

सो अवसरमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष पवन शारडा, संगठनका पूर्वअध्यक्ष किशोर प्रधान, संघका पूर्वअध्यक्ष महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *