थप पेचिलो बन्दै क्यानको राजनीति‚ दुई पदाधिकारीले किन दिए राजीनामा ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । एकै प्यानलमा रहेर चुनाव जिते पनि पछिल्लो समय अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्याकुरेलबीच दूरी बढ्दो थियो । क्यान विभिन्न विषयमा आलोचित हुँदै जाँदा दुई जनाबीचको दूरी पनि बढ्दो थियो ।

राजीनामाबारे जानकारी दिन बुधबार गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले क्यानको निलम्बन फुकुवा भएसँगै आफूले राजीनामा दिने सोचेको भएपनि ढिला भएको बताए । उनले भने‚ ‘नेतृत्वलाई ग्रुम गराउनका लागि यो ठाउमा छिरेका हौँ । मलाई क्यान आईसीसीबाट निलम्बनबाट पूर्ण फुकुवा भएपछि राजीनामा दिने मन थियो । तर अलि ढिला भएको हो ।’

आगामी दिनमा क्यान थप सफल र सक्षम होस् भन्ने उद्देश्यका साथ राजीनामा दिएको प्याकुरेलले बताए । उनले एकदशकभन्दा लामो समय नेपाल क्रिकेटमा महत्वपूर्ण पदाधिकारीको रुपमा काम गरेका छन् ।

दुई वर्षअघि ११ असोजमा चन्द नेतृत्वमा प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । चन्द नेतृत्वले तत्कालीन चुनावमा क्लीन स्विप गरेको थियो । क्यानको नेतृत्व आएको दुई वर्षसम्म नेपाली क्रिकेटमा दीर्घकालीन विकासको कुनै अवधारणा सुरूवात हुन नसक्दा तथा सामान्य कामसमेत नभइरहँदा आलोचना हुँदै आएको छ ।

क्यानका प्रवक्तासमेत रहेका प्याकुरेल पछिल्लो समय अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँग विभिन्न विषयमा असन्तुष्ट रहेका थिए । अध्यक्ष पक्षले भने प्याकुरेलले गुटबन्दी गरेको र त्यसलाई अध्यक्ष र कोषाध्यक्षले निषेध गरेपछि राजीनामा दिएको दाबी गरेका छन् ।

मुख्य रुपमा एड प्याडलाई जर्सी प्रायोजक, त्रिकोणात्मक सिरिजमा जोरा स्पोर्ट्सलाई १५ लाखमा बिक्री र नेपाल प्रिमियर लिग (एनपीएल) भारतीय कम्पनी सेभेन थ्री स्टारलाई ठेक्का दिने काममा प्याकुरेलको बढी हात रहेको र त्यसमा अप्रत्यक्ष रुपमा उनले लाभ लिएको दाबी अध्यक्ष पक्षधरको छ ।

पछिल्लो समय नेपाली क्रिकेटमा कप्तान पारस खड्काको संन्यास तथा प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामासँगै अब क्यान पधाधिकारीमा नै आएको फुटले आगामी दिनमा क्यानको राजनीति थप पेचिलो हुनेछ ।

राजनीतिकै कारण अनेकौँ अवरोध खेप्दै आएको नेपाली क्रिकेट विकासको काम अझै कति समय यस्तै दाउपेच र गुटबन्दीमै बित्ने हो‚ त्यो यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *