एकीकृत समाजवादीलाई कांग्रेसको प्रस्ताव- ‘अढाई महिना भए पनि बागमतीमा सरकारको नेतृत्व’

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) लाई बागमती प्रदेशमा अढाई महिनाका लागि भएपनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेको छ । बागमतीमा एकीकृत समाजवादीको सरकार बन्ने गठबन्धनभित्र भद्र समझदारी रहे पनि कांग्रेसले एकीकृत समाजवादीलाई यस्तो प्रस्ताव राखेको हो । यद्यपि एकीकृत समाजवादीले स्वीकार भने गरिनसकेको श्रोतले जनाएको छ ।

प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ भने गठबन्धनभित्रको एकतालाई कायम राखेर आफूहरू अगाडि बढ्ने प्रयासमा रहेको बताउँछन् । केही समय भएपनि बामगतीमा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हो ? भन्ने मकालुखबरको जिज्ञासामा बानियाँले भने, ‘कांग्रेसले पनि होइन, कांग्रेसले नै पाउनुपर्छ भन्ने हाम्रो माग र दाबी हो ।’

एकीकृत समाजवादीलाई गरेको प्रस्तावका बारेमा बानियाँले गठबन्धन कायम राख्न जे पनि गर्न तयार हुनुपर्ने बताए । एकीकृत समाजवादीलाई अढाई महिनाको प्रस्ताव गर्नुभएको हो ? भन्ने प्रश्नमा नेता बानियाँ भन्छन्, ‘त्यो प्रस्ताव त के प्रस्ताव भन्नू ? यो त एकतालाई कायम राख्न गरिएको सल्लाह हो । कांग्रेसले एकीकृत समाजवादीलाई, एकीकृत समाजवादीले माओवादीलाई, माओवादीले एकीकृत समाजवादीलाई, यो त भइहाल्छ नि । कांग्रेसले गठबन्धनलाई जोगाउने सवालमा कुनै शर्त राख्दैन । निः शर्तै छ ।’

यसबारेमा छलफल भइरहेको तर एकीकृत समाजवादीले जवाफ दिइनसकेको कांग्रेका अर्का नेताले बताए । उनले भने, ‘त्यसमा सकारात्मक जवाफ आउँछ कि आउँदैन हेर्नै बाँकी छ । हामी आपसमा सल्लाह तथा छलफलमै छौँ ।’

बागमतीमा दुवैको दाबी

गठबन्धनभित्र बागमती प्रदेश र प्रदेश नं. १ मा कांग्रेस र एकीकृत समाजवादीको सरकार बनाउने एकखाले समझदारी रहेको नेताहरुले दाबी गर्दै आएका छन् । यद्यपि दुवै दलले बागमतीमै आफ्नो सरकार हुनुपर्ने अडान राखेका छन् ।

नेता बानियाँ पनि कांग्रेस नेतृत्वको सरकार बागमतीमै बन्नुपर्ने जिकिर गर्छन् । ‘यो आजको आवश्यकता हो भन्ने हामीलाई लागेरै यसो भनरहेका छौँ, गरिरहेका छौँ । लोकतान्त्रिक पार्टीले सरकारको नेतृत्व गरेको खण्डमा राम्रै हुन्छ भन्ने गठबन्धनभित्र पनि बुझाइ छ । कांग्रेसको सरकार प्रदेश नं. १ मा होइन, बागमतीमै बन्नुपर्छ ।’

यसको टुङ्गो लगाउने जिम्मा नेतृत्वलाई नै दिएको र प्रधानमन्त्रीले नै यो कुराको छिनोफानो गर्ने नेता बानियाँले बताए ।

एकीकृत समाजवादीले पनि आफू नेतृत्वको सरकार बागमतीमै बन्नुपर्ने बताउँदै आएको छ । प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमतीमा आफ्नो नेतृत्वमा सरकार बन्नुपर्छ भन्दै आएका छन् ।

000

नेकपा (एमाले) विभाजन भएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । उनले दशैंअगाडि नै विश्वासको मत लिनुपर्छ । एमालेको विभाजनसँगै १३ सांसद एकीकृत समाजवादीतिर लागेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेकाअनुसार २५ गतेसम्म प्रदेश सभाको नवौं अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी छ । विश्वासको मत लिन सक्नुहोला त मुख्यमन्त्रीले ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यही हेरौँला ।’

प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ । माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एक ठाउँमा उभिँदा बहुमत पुग्छ । १०९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, ५ दलीय गठबन्धनसँग ५८ सांसद छन् ।

तर, गठबन्धनबाट मुख्यमन्त्री को भन्ने टुङ्गो भने लागिसकेको छैन । मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादी पार्टीको दाबी रहेपनि कसको सरकार बन्ने भन्ने नै अन्तिम भइसकेको छैन । ७ वटा प्रदेश सरकारमध्ये २ वटा (प्रदेश १ र बागमती) को मुख्यमन्त्री आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *