भैरहवाको पहिलो जित

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पहिलो जित हात पारेको छ । बुधबारको खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको हो । वर्षाले लगातारजसो खेल प्रभावित भइरहेको बेला टस जितेर भैरहवाले विराटनगरलाई पहिलो ब्याटिङका लागि निम्ता दिएको थियो ।

विराटनगर १७ ओभर ४ बलमा ओभरमा ८९ रनमा समेटिएको थियो । ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो ब्याटिङ गरेको विराटनगर खराब सुरुवातको शिकार भयो ।

विराटनगरका ओपनर चन्द्रपउल हेमराज शून्य रनमा आउट हुँदा अर्का ओपनर आशिफ शेख ११ रनमा आउट भए । दिलसान मनवेराको २५ रन सर्वाधिक रह्यो । सुमित महर्जनले १३ रन बनाउँदा अनिल साहले ११ रन जोडे । बसन्त रेग्मी १० रनमा आउट भए । अन्य खेलाडीले दोहोरो रनको स्कोर गर्न सकेनन् ।

भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३-३ विकेट लिँदा अविनास बोहोराले २ विकेट लिए । त्यस्तै दुर्गेश गुप्ता र कृष्ण कार्कीले १-१ विकेट लिए ।

जवाफमा भैरहवाले २७ बल बाँकी छँदै ४ विकेट गुमाएर सहज जित हासिल गर्‍यो । उसका लागि श्रीलङ्काली लेजेन्ड उपुल थरङ्गा ३४ रनमा अविजित रहे । ओपनर प्रदिप ऐरीले २२ रन बनाउँदा तमिम इकबाल र रोहित पौडेल १२‚ १२ रनमा आउट भए । कप्तान शरद भेषवाकरले ६ रनमा अविजित रहे ।

वर्षाले ओभर घटाइएको खेलमा ललितपुरमाथि पोखराको जित
यसअघि दिनको पहिलो खेलमा मैदान भिजेका कारण ७ ओभरमा घटाइएको खेलमा ललितपुरमाथि पोखरा राइनोजले ९ विकेटको प्रभावशाली जित आत्मसात् गर्‍यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । उसका लागि सनडुन वेराकोडीले १९ र ओसादा फर्नान्डोले १० र नारायन जोशीले ११ रन बनाए ।

५२ रनको लक्ष्य पोखरा राइनोजले ३ बल बाँकी छँदा पूरा गरेको हो । उसका लागि ओपनर रिचार्ड लेभिसले ३८ रनको योगदान दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *