साफ च्याम्पियनसिप : प्रतियोगिताअघिको नेपाल 

काठमाडौँ । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालले तयारी लगभग पूरा गरेको छ । प्रतियोगिताका लागि कतारबाट सिधै माल्दिभ्स पुगेको नेपाली टीमले त्यहाँ सामान्य अभ्यास मात्र गर्नेछ ।

नेपालले प्रतियोगिताको सुरुवात शुक्रबार घरेलु टोली माल्दिभ्ससँगको खेलबाट गर्नेछ । साफकै लागि नेपाली राष्ट्रिय फुटबल टिमले ३ महिना यता निरन्तर तयारी गरिरहेको छ । नेपालले विश्वकप छनोटलाई पनि साफको तयारीका रूपमा नै प्रयोग गरेको थियो । यद्यपि पछिल्ला केही मैत्रीपूर्ण खेलमा फेरि एक पटक नेपाली राष्ट्रिय टिममाथि स्वाभाविक प्रश्न भने उठेका छन् ।

तर प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने साफमा नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । नेपाल साफमा अहिलेसम्म सेमिफाइनलभन्दा अघि पुग्न सकेको छैन । त्यसैले नेपालका लागि फाइनलमा पुग्नु नै पनि एउटा ठुलो उपलब्धि हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपालले केही समयअघि दशरथ रङ्गशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १-१ को बराबरी खेलेको नेपाल दोस्रो खेलमा भने २-१ ले पराजित हुन पुगेको थियो ।

त्यसपछि नेपाली टिम साफकै तयारीका लागि कतार प्रस्थान गरेको थियो । विश्वकपको तयारी गरिरहेको कतारले नेपाली टी मलाई  अभ्यासका लागि अवसर दिएको थियो । नेपालले कतारमा करिब दुई साता अभ्यास गर्‍यो । फिफा वरियतामा नेपालभन्दा ९० स्थानमाथि रहेको ओमानसँग अभ्यास खेलको अवसरसमेत नेपालले पायो । उक्त खेललाई प्रशिक्षक अलमुताइरीले निकै महत्त्वका साथ हेरेका थिए ।

उनले अन्तिम‚ तर महत्त्वपूर्ण परीक्षाको रूपमा ओमानविरुद्धको खेललाई लिएको बताएका थिए । तर अब्दुल्लाह यो परीक्षामा भने सफल हुन सकेनन् । जुन परीक्षा उनका लागि महत्त्वपूर्ण थियो । फिफा वरीयतामा ७८ औँ स्थानमा रहेको ओमानले नेपालसँग आफ्नो बलियो स्क्वाडलाई पहिलो हाफमा खेलाएको थिएन । जहाँ नेपालले १-१ गोलमा ओमानलाई रोक्यो‚ तर दोस्रो हाफमा ओमानले केही अनुभवी खेलाडी मैदान उतार्दा नेपाल निरीह रहँदै ७-२ को अन्तरले पराजित हुनुपर्‍यो ।

कतारमा साफअघि नेपालले खेलेको अन्तिम अभ्यास खेल निराशाजनक रह्यो । आत्मविश्वास बढाउने विश्वास गरिएको खेलले नेपाली खेलाडीको वास्तविक धरातलमा पुनः एक पटक पुर्‍यायो । त्यसैले खेलाडीसँगै प्रशिक्षक अलमुताइरीमाथि समेत प्रतियोगिता नजिकै ठुलो दबाब परेको छ । समग्रमा नेपाललाई खेलअघिको अभ्यासले माले साफ चुनौतीपूर्ण हुने देखाएको छ । यद्यपि नेपाल फेरि पनि दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी भने पक्कै हुनेछ ।

नेपालको खेल कोसँग कहिले ?
साफ च्याम्पियनसिप शुक्रबारदेखि १६ दिनसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको पहिलो खेल शुक्रबार मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग ४ अक्टोबरमा प्रतिस्पर्धा गर्दा तेस्रो खेलमा नेपाल १० अक्टोबरमा भारत तथा अन्तिम खेलमा १३ अक्टोबरमा बङ्गलादेशसँग खेल्नेछ । पाँच देश सहभागी प्रतियोगिताको लिग चरणको शीर्ष दुई टोलीले उपाधिका लागि १६ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली राष्ट्रिय फुटबल टिम
किरण चेम्जोङ (कप्तान), दीप कार्की,  विशाल श्रेष्ठ,  आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *