संकटहरूको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

काठमाडौँ । स्कटल्यान्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि पक्षधर राष्ट्रहरूको २६ औँ सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले मंगलबार मुलुकका प्रमुख संचारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मुलुकका प्रमुख छापा माध्यम, अनलाईन र टेलिभिजनका गरी करिब २० जना सम्पादकहरू सहभागी थिए ।

कार्यक्रममा नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दिक्षित, वातावरणविद् भुषण तुलाधर र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्ले प्लानलिस्टमा थिइन् । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्यानलिस्ट भुषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा ठूल्ठूला घटनाहरू भइरहेको र यी घटनाहरुलाई सम्बोधन गर्न ढिलो भइसकेको बताए । जलवायु परिवर्तनले आमनागरिकको जीवन संकटमा पर्दै गएको र यो मुद्दालाई संचारमाध्यमहरूले अझ प्रभावकारी रुपमा उठाउनुपर्ने सुझाव उनको छ । तुलाधरले अन्तरराष्ट्रिय सभा सम्मेलनमा सहभागी भएर आफ्ना मुद्दाहरू प्रभावकारी रुपमा राखेपनि जलवायु परिवर्तनबाट आमनागरिकलाई सुरक्षित राख्ने हो भने कामको सुरुवात नेपालबाटै गर्नुपर्ने बताए ।

‘नीतिहरू राम्रा राम्रा बनेका छन् । तर कार्यान्वयनमा सधैँ समस्या छ । कतिपय नीति सरकार आफैँले पनि उल्लंघन गरिरहेको छ,’ उनले उदाहरण दिँदै भने ।

अर्का प्यानलिस्ट कुन्द दिक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आमनागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको बताए । जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उनले सञ्चार माध्यमहरूले यी विषयलाई अझै प्रभावकारी रुपमा उठाउनुपर्ने कुरामा जोड दिए ।

मानवीय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेरसमेत घटिरहेको अवस्था छ । अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदुषण गर्ने प्रज्ज्वलनशील इन्धनको आयतमा खर्च भइरहेको छ । हाम्रोजस्तो मुलुकका लागि यो एउटा ठूलो संकट हो’, दिक्षितले भने ।

उनले यो मुद्दा आम नागरिकको जीवनसँग जोडिएकाले यसलाई आमसञ्चार माध्यमले राजनीतिक मुद्दाका रुपमा उठाउनुपर्ने बताए । अहिले देशमा भएका संकटहरूको पिरामिडको टुप्पोमा जलवायु परिवर्तन छ’, दिक्षितले भने, ‘समाजमा विद्यमान हरेक समस्याहरू कहिँ न कहिँ र कतै न कतैबाट यो मुद्दासँग जोडिएका छन् । त्यसैले समाजका विद्यमान समस्याहरु र समाधानका उपायहरू खोतल्ने हो भने जलवायु परिवर्तनबाट सिर्जित समस्याहरू पनि सम्बोधन हुन्छन् ।’ सञ्चारमाध्यमहरूले यो मुद्दालाई पर्याप्त रुपमा नउठाएको उनको जिकीर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =