सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुनजस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थानसहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्त वीर राई रहेका छन् ।
समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौँ आएका यात्रुहरूलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राईसमेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनजस्तो देखिने पँहेलो धातुको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ । सिंगापुर र मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौँ विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानहरूबाट शंकास्पद १५ जना यात्रुहरुले सुनजस्तो देखिने पहेँलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त धातुका बाला तथा सिक्री आफूहरूको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौँ विमानस्थल आसपास तथा विभिन्न होटलहरूमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरूको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।
बरामद सुनजस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।








