कांग्रेस : केन्द्रमा सत्तापक्ष, सुदूरपश्चिममा प्रतिपक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दलमै यथावत् रहेको छ । केन्द्रमा कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बनेपनि सुदूरपश्चिममा भने प्रमुख प्रतिपक्ष दल बनेको हो ।

प्रदेश सभाको सोमबारदेखि बसेको बैठकमा सोहीअनुसार सिट व्यवस्थापन गरिएको छ । कांग्रेस प्रदेश सरकार गठन हुँदादेखि नै प्रमुख प्रतिपक्ष दलको रूपमा रहँदै आएको छ ।

नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एमाले) एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा पनि प्रदेशमा कांग्रेस प्रमुख प्रतिपक्षी दलकै रूपमा थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी थियो ।

अहिले माओवादी, एमाले र जसपा फुटेर ६ दल बन्दा पनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा छ । अहिले अन्य प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् ।

सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टी रहेको छ । पार्टी विभाजनपछि प्रमुख प्रतिपक्ष दलसहित प्रमुख प्रतिपक्षी दल, मुख्यमन्त्री, एकीकृत समाजवादी संसदीय दलका नेता र उपसभामुखको सिट अगाडिको लाइनमा व्यवस्थापन गरिएको छ ।

दुई महिनापछि बैठक बस्यो

दुई महिना अघिदेखि अनिश्चित बनेको सुदूरपश्चिम प्रदेश सभाको सोमबारदेखि बैठक शुरू भएको हो । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले सोमबारदेखि प्रदेश सभा बठैक शुरू हुने बताए । उनकाअनुसार सोमबारको बैठकमा महालेखा परीक्षकको प्रतिवेदन सभामा पेश भएको छ ।

प्रदेश लोकसेवा आयोग सम्बन्धमा बनेको विधेयक र प्रदेश खेलकुदसम्बन्धी विधेयक पनि संशोधन विधेयक टेबुल भएको उनले जानकारी दिए ।

पछिल्लो समयमा सत्तासाझेदार दलमा देखिएको राजनीति उतारचढाव र पर्याप्त बिजनेश नहुँदा दुई महिनादेखि बैठक बस्न सकेको थिएन ।

सभामुख अर्जुनबहादुर थापाले गएको असार २७ गते प्रदेश सभा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । अब अर्को बैठक मगलबार दिउँसो २ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *