चितवनले अन्तिम बलमा निकाल्यो जित

काठमाडौँ । काठमाडौँमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन राइनोजले विजयी सुरूवात गरेको छ । आइतबार टीयू मैदान कीर्तिपुरमा भएको पहिलो दिनको खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गर्दा अन्तिम बलमा लक्ष्य पुरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो । खराब सुरूवात गरेको विराटनगरलाई सिकन्दर रजाले मध्यम स्कोरमा पुर्‍याएका थिए । रजाले ४७ बलमा ६७ रन बनाउँदै टीमलाई ध्वस्त हुनबाट जोगाए पनि जितका लागि पर्याप्त लक्ष्य भने हुन सकेन । उसका लागि केवल तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर छोए । रजालाई अनिल साहले ३२ रन बनाएर सहयोग गर्दा सौरभ खनालले ३० रनको अविजित ईनिङ खेल्दै नटआउट रहे ।

चितवनका लागि सोमपाल कामी, कमल सिंह ऐरी, करिम जनातले समान २-२ विकेट लिँदा सहाब आलमको नाममा १ विकेट रह्यो ।

जवाफी इनिङ् सुरू गरेको चितवनले भने अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । उसका लागि भिम सार्कीले ३० रनको योगदान दिँदा इशान पाण्डे १० रनमा आउट भए । त्यस्तै करिम जन्नतले १९ रन बनाए ।

त्यस्तै सोमपाल कामी ९ रनमा आउट भए । चितवनको जितमा राजेश पुलामी नायक सावित भए । उनले अविजित ४३ रनको योगदान दिंदै टीमको जित निश्चित गरेका थिए । अन्तिम बलमा १ रन चाहिंदा उनले चौका प्रहार गर्दै चितवनलाई पहिलो जित दिलाए । विराटनगरका सिकन्दर रजा र करन केसीले समान २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *