नाडाको साधारणसभा मङ्सिर महिनामा

काठमाडौँ । नाडाको ४५ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आउँदो मङ्सिर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।
सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरूलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।
नाडाका अनुसार ती सामानहरू नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरू मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरू वितरण गरेको थियो ।








