महाधिवेशन सार्न लागेकोप्रति शेखर-गगनको खबरदारी

काठमाडौँ । कांग्रेसको १४औं महाधिवेशनको पूर्वघोषित कार्यतालिकामा फेरि परिवर्तन गर्ने शीर्ष नेताको सहमतिमा नेताहरु डा. शेखर कोइराला र गगन थापाले प्रश्न उठाएका छन् । बुधबारदेखि शुक्रबारसम्म बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले १३ जिल्लाको विवाद कायमै रहेको अवस्थामा हिमाली जिल्लामा मात्रै कार्यतालिका लागू हुने र बाँकी जिल्लामा दशैंपछि मात्रै जिल्ला तहसम्मको अधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गरेपछि नेताद्वय कोइराला र थापाले खबरदारी गरेका हुन् ।

कोइराला र थापाले पदाधिकारी र पूर्वपदाधिकारीहरुले गरेको त्यस्तो निर्णयमाथि प्रश्न उठाएका हुन् । ‘क्रियाशील सदस्यता सार्वजनिक भएर वडाअधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुपर्नेे कारण के हो ? सँगैंको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?,’ आफ्नो आधिकारिक फेसबूकमार्फत कोइरालाले लेखेका छन्, ‘अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?’

यस्तै नेता थापाले पनि कार्यतालिका फेरबदलको विषयमा असहमति जनाएका छन् । ‘कति सजिलै सर्छ अधिवेशनको मिति । १३ जिल्लाको वडाअधिवेशनकै टुङ्गा छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा बस्नुनपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने,’ नेता थापाले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन्, ‘बस् ! नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ।’

प्रवक्ता विश्वप्रकाश शर्माले भने जिल्ला जिल्लामा देखिएको समस्याका कारण यस्तो निर्णय गर्नुपरेको बताएका छन् । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता शर्माले भने, ‘९, १० गर्दै चुनाव अगाडि बढछ । बडो स्वस्थ र लोकतान्त्रिक ढङ्गले चुनाव अगाडि बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *