बादल भन्छन्- ‘प्रचण्डसँग चुनाव लड्न तयार छु’

चितवन । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लड्न तयार रहेको बताएका छन् । ‘योबारेमा पार्टीले निर्णय गरेको छैन,’ चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने, ‘आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

थापाले माओवादी कार्यकर्ताहरू आफूतिर आइरहेको दाबीसमेत गरे । ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नुभएको छ,’ थापाले भने, ‘त्यो कुरा स्वयम् प्रचण्डले नै व्यक्त गरिरहनुभएको छ । कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएकोछ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

थापा पूर्वमाओवादी नेता हुन् । ०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि एमालेकै कित्तामै उभिएका थापा अहिले एमालेको स्थायी कमिटी सदस्य छन् । यससँगै प्रचण्डसँग लामो समय राजनीतिक सहकार्य गरेका थापाले प्रचण्डप्रति कटाक्ष गर्दै आएका छन् ।

प्रचण्ड र थापा दुवै चितवनकै हुन् । प्रचण्डले पछिल्लो निर्वाचन चितवनबाट जितेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *