कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने ‘स्क्रब टाइफस’ के हो ?

हरेक वर्ष यो मौसममा ज्वरो र रुघाखोकीसँगै कोभिडसँग मिल्ने लक्षण भएका अन्य सरुवा रोगहरू बढ्ने गरेको विज्ञहरू बताउँछन् । आज मानिस कोभिड, मौसमी रुघा र स्क्रब टाइफस छुट्टाउन नसक्दा आत्तिने गरेका छन् ।

कतिपय त कोभिडजस्तै लक्षण देखिएका कारण पीसीआर परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन् । यहाँ स्क्रब टाइफस के हो र कसरी लाग्छ ? र बच्ने उपायबारे चर्चा गरिएको छ ।

के हो स्क्रब टाइफस ?
एक प्रजातिको किर्नाले मानी सलाई टोकेपछि स्क्रब टाइफस हुन्छ । यो ओरिएन्टा, सुसुगामुसी भन्ने ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो सङ्क्रमण भएको ५ देखि २० दिनभित्रमा लक्षणहरू देखिन शुरु हुन्छ ।

पछिल्लो समय यसका बिरामीको सङ्ख्या पनि बढेको छ । यसको मृत्युदर १२ प्रतिशत रहे पनि यसको खासै वास्ता गरिएको पाइँदैन । स्क्रब टाइफसका लक्षण अन्य रोगहरूसँग पनि मिल्ने हुन्छन् । लक्षण मिले पनि स्क्रब टाइफसको लक्षण पहिचान गर्न गाह्रो भने छैन ।

तर यो एकबाट अर्को व्यक्तिमा भने नसर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनको भनाई छ । नेपालमा सामान्यतया साउन भदौ र असोज तीन महिनामा स्क्रब टाइफसका बिरामी बढी भेटिने गरेको छ ।

यस्ता छन् स्क्रब टाइफसका लक्षण

  • १०४ डिग्री ज्वरो आउने
  • टाउको दुख्ने
  • गर्धन र घाटी वरिपरि ससाना बिबिराहरू देखिने
  • आँखा हल्का रातो देखिने
  • कानमा एक प्रकारको आवाज सुनिन सक्ने
  • ग्रन्थिहरू सुनिने हुन सक्ने
  • पसिना आउने
  • किर्नाले टोकेको ठाउँमा चिलाए जस्तो हुने र चिलाउँदा चिलाउँदै कालो घाउको पाप्रो जस्तो देखिने
  • श्वास फेर्न कठिनाइ हुने ।

डा. पुनका अनुसार ज्वरो आएको र कालो प्रापो (स्क्रार) देखिएको भए स्क्रब टाइफस हुने सम्भावना बढी हुन्छ । यसको पहिचानका लागि रगत नै जँचाउनुपर्छ । यो सहजै हामीले पत्ता लगाउन सकिन्छ । यो पत्ता लाग्यो भने यसको उपचार पनि प्रभावकारी हुन्छ ।

यसका लागि एन्टीबायोटिक प्रयोग गरिन्छ जुन, सहजै पाउन सकिन्छ । त्यो औषधि खायो भने स्क्रब टाइफस पूर्ण रूपमा निको हुन्छ । उपचारका लागि स्वास्थ्य संस्थामा भने जानुपर्ने हुन्छ ।

स्क्रब टाइफसबाट बच्ने उपाय
धेरै जसोले मुसाले टोकेर स्क्रब टाइफस हुन्छ भन्ने सोच्ने गरेको पाइन्छ । जुन गलत हो । मुसाले नभई मुसामा हुने फिगरमाइट (किर्ना)कुनै कारणवश मुसाबाट खसेपछि मानिसको शरीरमा आएर टोक्ने गर्दछ र जसबाट स्क्रब टाइफस हुन्छ ।

यो फिगर माइट भन्ने सानो किर्नाको टोकाइबाट हुन्छ ।  यस्ता किर्नाहरू मुसामा बढी हुने भएकाले यसबाट सावधान रहनुपर्दछ । यसबाट बच्न मुख्यतया: घर वरिपरि आफूले काम गर्ने ठाउँमा मुसा आउने वातावरण बनाउनु हुँदैन ।

-घर वरपर झाडी, अग्ला अग्ला घाँसहरू भए सफा गर्नुपर्दछ ।

-शरीर पूर्ण रूपले ढाक्ने खालको कपडा लगाउनुपर्दछ ।

-भुईँमा तथा खुला चौरमा किर्नाहरू खसेको हुन सक्ने भएकाले त्यस्तो ठाउँमा बस्दा कपडा ओछ्याएर बस्ने गर्नुपर्दछ ।

-यसरी हामीले किर्नाले टोक्नबाट बच्न सकिन्छ । यसका लागि हामीले नै प्रयास गर्नुपर्छ ।

यसको उपचार नभए निमोनिया हुने, मस्तिष्क असर पार्ने, पेटमा, मिर्गौलामा र कलेजोमा नै असर पर्ने सक्ने भएकाले हेलचेक्र्याइँ गर्नु हुँदैन ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *