विवाहकै लागि नेपाल आए दुई विदेशी, गरे हिन्दु परम्परा अनुसार विवाह

पोखरा । पञ्चेबाजाको तालमा नाचिरहेका थिए गाउँलेहरू । हिन्दु परम्परा अनुसार जग्गे, उस्तै पहिरनमा सजिएका थिए दुलहा र दुलही । आधा गाउँले बेहुला पक्षका थिए भने आधा बेहुली पक्षका । बेहुलीले परम्परागत गुरुङ पोसाकमा पर्ने चोली, घलेक, फरिया लगाएकी थिइन् भने बेहुलाले ढाका टोपी र सर्ट पाइन्ट । छेउमा रत्यौली घन्किरहेको थियो ।

पण्डितले पाठ गरिरहेका, माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर सिन्दूर हालेपछि सकियो दुई विदेशीबिचको बिहे । कास्कीको माछापुच्छ्रे गाउँपालिका अस्ताममा मंगलबार अनौठो दृश्य देखियो । कोभिडले आउजाउ ठप्प भएका बेला सात समुन्द्र पारिदेखि नेपाल आएर नेपाली परम्परा अनुसार विवाह गरे एक जोडीले । नेदरल्याण्डका ३३ वर्षका विलियम जोन बोस्मा र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेण्डोजा बुलाङले नेपाली परम्परा अनुसार नेपालमै बिहे गरेका हुन् ।

लामो समयदेखिको प्रेम सम्बन्ध उनीहरूले नेपालमा हुँदा विवाहमा परिणत गरे । विवाहकै लागि ५ महिना अघि नेपाल आएको उनीहरूले सुनाए । ‘नेपाल आउँदा यहाँको संस्कृति बुझेँ । खुवै मन पर्‍यो । भारतमा योगा कक्षा लिँदा पनि हिन्दु धर्म प्रति प्रभावित भएको थिएँ,’ बेहुली मारिनाले भनिन्, ‘त्यसपछि यही संस्कृति अनुसार बिहे गर्ने सोचले नेपाल आएँ ।’ विलियम पनि नेपाल आउने चाहना पहिलै भएपनि नपाएको र अहिले विवाहले त्यो अवसर जुराएको सुनाउँछन् । ‘नेपाल आउने चाहाना पहिल्यै थियो । नेपालमा विवाह गर्ने भनेपछि खुसीको सीमा रहेन,’ उनले भने, ‘यो मेरो जीवनका लागि अविस्मरणीय रहने छ ।’

उनीहरूले हरेक विवाह वर्षगाँठमा नेपाल आउने बताएका छन् । नेपाली सत्कारबाट आफूहरू प्रभावित भएको उनीहरूले बताए । सन् २००७ मा उनीहरूको पहिलो भेट अध्ययनको क्रममा फिलिपिन्सको एक कलेजमा भएको थियो । त्यसपछि कहिलेकाहीँ कुरा गरिरहन्थे । २ वर्षअघि थाइल्याण्डमा संयोगले पुनः भेट भयो । उनीहरू त्यसपछि बिहे गर्ने सोचमा पुगे । परिवारलाई सम्बन्धबारे भने ।

परिवारकै सहमतिमा बिहे गरेको उनीहरूको भनाई छ । मारिना र विलियमले परम्परागत विवाह भन्दा अघि कास्की जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन् । भदौ ९ गते कोर्ट म्यारिज भएको हो । गण्डकी प्रदेशमा दुई विदेशी बिचको अदालती विवाह यो नै पहिलो भएको जिल्ला अदालतले जनाएको छ ।

कोर्ट म्यारिज पछि परम्परागत विवाहको व्यवस्थापन मिलाएका थिए अस्तामकै इको भिलेज सञ्चालक विश्व अधिकारीले । ‘उनीहरू हाम्रो ईकोभिलेजमा पहिला पनि आएका थिए । दोस्रो लकडाउनमा यतै अड्किएपछि बिहे गर्ने रुचि राखे । मैले व्यवस्थापन गरिदिएँ,’ उनी भन्छन्, ‘गाउँमा घरघरै पुगेर गाउँलेलाई उनीहरूले नै निम्तो गरे । पञ्चेबाजा हामीले व्यवस्था गर्‍यौँ । सामान्य भन्दा भन्दै विवाह त भव्य भयो ।’

पछिल्लो समय नेपालमा विवाह गर्न आउने विदेशी जोडी बढ्दै छन् । पोखरा र आसपासको क्षेत्र हनिमुनका लागि पनि उपयुक्त हुन सक्ने र त्यसको प्रचार आवश्यक रहेको अधिकारी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *