सत्ता पाए अंगुर, नपाए लंगुर

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त बिरामी रहेको खबर आयो ।  स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो । बिचरा वकिल के गर्ने, के नगर्ने कुनै निर्णय लिन सकिरहेका थिएनन् ।

पतिको  बेचैनी राम्ररी बुझेकी पत्नीले भनिन- ‘मेरो चिन्ता नलिनुस् । छिटै सहर गएर बहस थाल्नुस् । कुनै निर्दोष मान्छेलाई बिना कसुर सजाय भयो भने त्यो अपराधको भागीदार हामी दुवै उनेछौँ ।’  पत्नीको सल्लाह मानेर उनी सहर पुगेर बहस गरे ।  अदालतमा बहस चलिरहेको बेला उनलाई कसैले एउटा पत्र दियो । खरर्र चिठी पढेर खल्तीमा राखे । अनि फेरि बहस थाले । उनको पक्षमा फैसला भयो । एउटा निर्दोष व्यक्तिलाई बिना कसुर सजाय हुनबाट जोगाएको खुसीमा अदालतको माहौल अबिर जात्रामा परिणत भयो । सहकर्मी वकिलहरूले बधाई दिए । यसैबिच एउटा साथीले बहस गर्दागर्दै पाएको चिठीको विषयमा जिज्ञासा राखे । वकिलले खल्तीबाट निकालेर त्यो पत्र पढ्न दिए । चिठी हेरेका साथीको आँखामा उदासी, सहानुभूति र आँसुका थोपा थिए । त्यो चिठी वकिलकी पत्नीको मृत्यु भएको खबर बोकेर आएको थियो ।

रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरू काठमाडौँको रैथानेमा परिणत भएपछि आफ्नै उद्गमस्थलबाट माओवादी बिरानो बन्दै गयो । सत्ता पाए अंगुर, नपाए लंगुर हुने प्रवृत्ति राजनीतिमा हाबी भयो । 

साथीहरूले हैरान हुँदै प्रश्न गरे- ‘किन त्यस्तो सिकिस्त बिरामी पत्नी छोडेर बहस गर्न आएको ?’  जवाफमा भने- ‘म पत्नीकै आग्रहमा आएको हुँ । कुनै निर्दोष बचाउनुभन्दा ठूलो धर्म छैन भन्ने उनको विश्वास पालना गर्न म आँसु पिएर बाँचेको हुँ ।’ तिनी थिए- भारतका सुप्रसिद्ध वकिल सरदार बल्लभभाइ पटेल । यही कर्तव्य र निष्ठाका कारण भारतमा ‘लौह पुरुष’ उपमाको प्रसिद्धि पाएका छन् पटेलले । भारतको गुजरातमा उनको सर्वाधिक ठूलो सालिक बनेको छ ।

महाभारतमा भनिएको छ- ‘सत्य बोल प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निसृत हुन्छ । जिब्रोभरि नुन लिएर तिहुन चाख्न तम्सिनेहरूको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना  सजिलो नभएपनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन । पटमूर्खहरू अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरूको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैँ सङ्ग्रहयोग्य हुन्छ ।

हनुमान आफैँमा धेरै बलशाली थिए । एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुस्साहस गरे । यो खबर देवलोकमा पुगेपछि देवताहरूको अपर्झट आपत्कालीन बैठक बस्यो । हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो ! देवताहरूको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो । बैठकको निष्कर्ष थियो- ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सृजना गरिदिने ।’ देवताहरूले हनुमानभित्रको विवेकको ढोका बन्द गरिदिएपछि उनको सामर्थ्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो । सम्भवतः यो अघोषित श्राप हाम्रा नेताहरूमा पनि परेको छ । जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरू भन्थे– हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो । त्यसपछि पनि यिनीहरूको घैँटोमा घाम लागेन । सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छोडेनन् ।

माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टा समेत उसैलाई बुझाएका काँग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐय्या भन्न नसक्ने अवस्थामा पुगे । आफ्नो पार्टी के हो र आफू के गर्दै छु भन्ने सामान्य हेक्का पनि उनीहरूलाई भएन ।

राजनीतिका नाममा काँग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्ति विरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरू राजनीतिको चुलो चौकामा पुर्‍याइए । सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर काँग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए । एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्म पितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरू तासको जोक्कर जस्तो फाल्टो हुँदै गए ।

नवप्रवेशी चैतेहरूको पार्टीमा हालीमुहाली बढ्न थाल्यो । यी सबै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो । त्यो वितण्डालाई ठिक ठाउँमा ल्याउने नैतिक सामर्थ्य सरकारमा रहेन । आखिर ठट्टाठट्टैमा आतङ्कको ज्वालाले देश तहसनहस भयो । विधिमा चल्नुपर्ने सिंहदरबार त सच्चिएन भने हिंसालाई हतियार बनाउनेहरूबाट विवेकी निर्णयको अपेक्षा गर्नु आफैँमा सुल्टो कर्म नहुने पक्का थियो । हजारौँको बलिदानपछि देशले अनपेक्षित युटर्न गर्‍याे । त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो । जनताले पनि हो मा हो मिलाइदिए । राजा फालिए । गणतन्त्र आयो । तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो । यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौँ ठूला मानिस जन्माइएको छ । ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ । नीतिहरूको राजा मानिने राजनीतिमा कुखुरा चोर, बाह्रमासे जुवाडे, गाउँका जाली फटाहाहरूको राजनीतिमा बिगबिगी बढ्यो । मानवीय कर्म नभएर जातजाति, धर्म संस्कृतिलाई राजनीतिको गोटी बनाइयो ।

हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरूले हिमालमा रहने महादेवको पूजा अर्चना गर्ने प्राकृतिक सन्तुलनमा धावा बोल्न खोजियो । कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो । राज्यको गाडी चालक हैन, खलासीले हाँक्न खोजे । देश घाँस, चोक्कर नदिने तर लाम्टा मात्र लुछ्ने गौ माता जस्तो बन्दै गयो । देशभरि प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने प्रचण्डपथको क्रान्तिकारी चरित्र लोकमान, रमेशनाथ, सुमार्गी जस्ता पात्रलाई सल्लाहकार बनाएपछि खरानी भयो । देशका जनता त के ढुङ्गा माटो समेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय कुम हल्लाउने, तेल, जेलमा रमाउने बाहेक माथि उठ्न सकेन । उनका हरेक कर्ममा पाखण्ड देखिन थाल्यो ।

एउटा सपना भाँचिएसंगै अरू अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा  डोर्‍याेउने त हो ।

सिंहदरबार जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा बन्न पुग्यो । माओवादीहरूको सहर प्रवेश स्यालले कुखुरा झम्टिएभन्दा पर हुन सकेन । माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टा समेत उसैलाई बुझाएका काँग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐय्या भन्न नसक्ने अवस्थामा पुगे । आफ्नो पार्टी के हो र आफू के गर्दै छु भन्ने सामान्य हेक्का पनि उनीहरूलाई भएन । आखिर चित् परेपनि पोट परेपनि माओवादी देशैभर भाले भयो । दोस्रो जनआन्दोलनको म्यान्डेट भनेको देश माओवादी र मदेसवादी नामका दुई अवसरवादीलाई जिम्मा लगाउनु र अरू चाहिँ रमिते हुनु हो भन्ने अघोषित बुझाई समाजमा स्थापित भयो । रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरू काठमाडौँको रैथानेमा परिणत भएपछि आफ्नै उद्गमस्थलबाट माओवादी बिरानो बन्दै गयो । सत्ता पाए अंगुर, नपाए लंगुर हुने प्रवृत्ति राजनीतिमा हाबी भयो ।

जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानी मध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्राबाट छर्छरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी ठिक । मुलुकमा हुने गरेका परिवर्तनको प्राप्ति यो सत्य भन्दा पर हुने अवस्था नै रहेन । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसंगै अरू अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा  डोर्‍याेउने त हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *