मधुमेहका बिरामीले अपनाउनुपर्ने खाद्य अनुशासन

हामीले खाने खाना पोषणयुक्त हुनुपर्दछ । पोषणयुक्त खाना खाएमा मात्र मानव शरीर स्वस्थ रहन सम्भव हुन्छ । कतिपय समयमा हामीले राम्रो खाना खाइरहेका छौँ भन्ने सोच्दा सोच्दै खानपानको तरिका नपुगेर शरीरमा रोगले आक्रमण गरिहाल्छ । कतिबेला हामी खाद्य अनुशासन तोड्छौ पत्तो नै हुँदैन ।

खानेकुरामा ध्यान नदिँदा लाग्ने रोगहरूमध्ये एक हो- मधुमेह । मधुमेह लागिसकेपछि के खाने र के नखाने भन्नेबारे केही कुरामा भ्रममात्रै छ भने कति कुरामा भने सत्यता पनि रहेको छ ।

मधुमेहको रोगीलाई पनि पर्याप्त पोषण जस्तैः स्टार्च, तरकारी, फलफूल, प्रोटिन, दुग्धजन्य परिकार, चिल्लो पदार्थ, गुलियो पदार्थ र पेय पदार्थ खानु आवश्यक हुन्छ । यहाँ मधुमेहको बिरामीले खाना छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ ।

पेय पदार्थ
हाम्रो शरीरलाई मधुमेह भएको अवस्थामा पनि विभिन्न पेय पदार्थको आवश्यकता पर्दछ । मधुमेह भएको अवस्थामा कुन पेय पदार्थ कति मात्रामा पिउन सकिन्छ भन्ने कुराले पनि विशेष अर्थ राख्ने गर्छ । जब हामीलाई मनपर्ने पेय पदार्थको कुरा आउँछ‚ त्यसमा क्यालोरी, चिनी, नुनको मात्रा बढी हुन्छ । यस्तो पेय पदार्थ छनोट गर्दा त्यसमा राखिएको चिनी, नुन र क्यालोरीको मात्रा पढ्नुपर्छ । फ्लेवर नराखेको पेय, गुलियो नराखेको, कागती राखेको, कफी, चिनीबिनाको कालो चिया, थोरै गुलियो राखेको पेय छनोट गर्नुपर्छ । रेगुलर सोडा, रेगुलर बियर, प्रशोधित फ्रुटजुस, चिनीजन्य पदार्थ, क्रिम राखेको कफी, बजारका एनर्जी ड्रिङ्क्स आदि मधुमेहका बिरामीले पिउनुहुँदैन ।

कार्बोहाइड्रेट
मानव शरीरलाई अत्यावश्यक पर्ने तत्त्व हो कार्बोहाइड्रेट । तर जब कुरा मधुमेहको बिरामीको आउँछ कति मात्रामा कार्बोहाइड्रेट भएको कुन कुन खाना खाने भन्ने द्विविधा सिर्जना हुन्छ । यस्ता समस्या समाधान गर्न खानाको सही छनोट गर्नु जरुरी छ । मधुमेहका बिरामीले आफ्नो खानामा थोरै कार्बोहाइड्रेट धेरै रेसा भएको खाना राख्नुपर्छ । जस्तै: ब्राउन राईस, ओट्स, जुनेलो, कोदो, सखरखण्ड आदि खाँदा बिरामीलाई आवश्यक मात्रामा कार्बोहाइड्रेट प्राप्त हुन्छ । प्रशोधित खानाहरू‚ जस्तैः ह्वाईट राईस, मैदाको पिठो, पाउरोटी, तेलमा तारेको परिकार, तारेको आलु मधुमेहको बिरामीले खानु हुँदैन । अरू स्वस्थ व्यक्तिले पनि यस्तो खाना सकेसम्म खानु हुँदैन ।

सागसब्जी तथा तरकारी
सागसब्जी जतिसक्दो धेरै खानुपर्छ । यसमा सागसब्जी र तरकारीबाट प्राकृतिक रूपमा नै नुन प्राप्त गर्न सकिन्छ । तर आलु र मकैलाई भने कार्बोहाइड्रेटमा गनिन्छ । मधुमेहको बिरामीले ताजा तरकारी, सलाद, थारै उसिनेको सब्जी र कम तेलमा पकाएको सब्जीहरू खानु राम्रो मानिन्छ । यसमा सादा फ्रोजन तरकारी, कम तापक्रममा बफ्याएको तरकारी खानु उचित हुन्छ । गाढा हरियो, रातो र सुन्तला रङको तरकारी र सलाद, सेतो प्याज, बैजनी रङको भन्टा खानुले शरीरलाई फाइदा पुग्छ । क्यानमा प्याक गरेको तरकारीमा सोडियमको मात्रा धेरै हुन्छ । यस्तो सब्जी तथा तरकारी खानुहुँदैन । धेरै चिज,बटर, सस प्रयोग गरी पकाएको तरकारी अस्वस्थकर मानिन्छ । धेरै नुन र मसला प्रयोग गरेर गलाएको अचार पनि मधुमेहको बिरामीले खानु हुँदैन ।

फलफूल
मानव शरीरलाई आवश्यक पर्ने सबै तत्त्व कार्बोहाइड्रेट, भिटामिन, खनिज र रेसा फलफूलबाट प्राप्त गर्न सकिन्छ । फलफूलमा फ्याट, सोडियमको मात्रा न्यून रहेको हुन्छ । तर सागसब्जी र तरकारीमा भन्दा धेरै कार्बोहाइड्रेट भएको फलफूल पनि हुन्छन् । मधुमेहका बिरामीले फलफूल छनोट गर्दा ताजा फलफूल छनोट गर्नुपर्छ । गुलियो पदार्थ राखेर फलफूल खानु हुँदैन । गुलियो नराखेको फलफूलको जाम पनि खान सकिन्छ । तर क्यानमा धेरै गुलियो थपेर राखिएको फलफूल, रेगुलर जाम, फ्रुट जेली, फ्रुट ड्रिङ्क्स भने खानु हुँदैन ।

प्रोटिन
प्रोटिन पाइने खानाका विकल्पहरू धेरै छन् । माछा-मासु, सामुद्रिक खाना, गेडागुडी, अण्डा, नट्स, तोफू यी सबै खानेकुरा प्रोटीनका भण्डार हुन् । मधुमेहको बिरामीले प्रोटिन पाइने खाना छनोट गर्दा बोटबिरुवामा फल्ने खानेकुरामा जोड दिनुपर्छ । जस्तैः बदाम, बियाँ, नट्स आदि । त्यसबाहेक माछा, सी-फूड, पोल्ट्री उत्पादन र कम चिल्लो भएको दुग्धजन्य पदार्थ पनि खान सकिन्छ । पोल्ट्रीको उत्पादन खाँदा छाला निकालेर खानु स्वस्थकर हुन्छ । यदि शाकाहारी होइन भने पनि गेडागुडीचाहिँ अनिवार्य रूपमा खानुपर्छ । तारेको मासु, पोर्क परिकार, रेगुलर चिज, धेरै तारेको तोफु भने खानु हुँदैन ।

दुग्धजन्य पदार्थ
मधुमेहका बिरामीले दुग्धजन्य पदार्थ खाँदा चिल्लो कम हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यसमा कम चिल्लो भएका सबै डेरीको उत्पादन खान मिल्छ भने रेगुलर कुनै पनि डेरी प्रोडक्ट खान मिल्दैन ।

चिल्लो पदार्थ, तेल, गुलियो
मधुमेहका बिरामीले यी तीनै पदार्थको प्रयोगमा धेरै नियन्त्रण गर्नुपर्ने हुन्छ । चिल्लो र गुलियो धेरै खाँदा तौल बढ्ने समस्या हुन्छ । जति तौल बढ्दै गयो‚ मधुमेह नियन्त्रण गर्न त्यति नै गाह्रो हुन्छ । प्राकृतिक रूपमा नै चिल्लो हुने पदार्थ खानु उपयुक्त हुन्छ । बदाम, काजु, बियाँ, एभोकाडो, साल्मोन र प्लान्ट बेस तेल खानु उपयुक्त हुन्छ । अनावश्यक चिल्लो पदार्थ खानु हुँदैन ।

वेबएमडीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *