ओली भेट्न बालकोट पुगे कार्की, संसद् खुलाउन आग्रह

काठमाडौँ । सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।

२३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ । यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए । तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी)को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

याे पनि : एमालेसँग ‘वर्किङ्ग रिलेसन्’ बनाउन प्रधानमन्त्रीले थाले प्रयास, एमसीसीबारे पनि छलफल

सभामुखको पहलबाट प्रतिपक्षीसँग सम्वाद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका छन् । देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुनः बालकोट पठाएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई संसद अवरोध खुलाउन आग्रह गरेको स्रोतले बताएको छ ।

सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरे पनि ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका छन् । ‘संसद् चलाउन सहयोग गर्नुस् भन्ने कार्कीको आग्रहमा ओलीले संसद्मा सम्मानजनक व्यवहार हुनुपर्‍यो’ भनेका थिए । यसअघि पनि ‘वर्किङ्ग रिलेशन’ बनाउने भन्दै ज्ञानेन्द्रबहादुर कार्की नै बालकोट पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *