कोरोनाको खोप औषधि पसलमा बरामद

जनकपुधाम । धनुषाको शहीदनगर नगरपालिकाको एक औषधि पसलमा बिक्री गर्न राखिएको कोभिडविरुद्धको भ्याक्सिन फेला परेको छ ।

शहीदनगर नगरपालिका-३ यदुकुहास्थित श्रीराम मेडिकलबाट बेच्नलाई राखिएको कोभिडविरुद्धको भ्याक्सिन ६ थान फेला परेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाको गेटअगाडि रहेको श्रीराम मेडिकलबाट भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र अस्ट्राजेनेका १ थान गरी जम्मा ६ थान कोभिडविरुद्धको भ्याक्सिन फेला परेको हो । विशेष सूचनाका आधारमा नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा सो भ्याक्सिनहरू फेला परेको मेयर उदय बरबरीयाले बताए ।

औषधि पसलमा भ्याक्सिन फेला परेपछि मेडिकल सञ्चालक कमलेश मण्डललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको मेयर बरबरीयाले जनाए ।

स्रोतका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाका केही कर्मचारीको मिलोमतोमा स्वास्थ्य केन्द्रबाटै कोभिडविरुद्धको भ्याक्सिन बेचिएको हो ।

मेयर बरबरीयाका अनुसार बुधबार साँझतिर प्राप्त भएको गोप्य सूचनाका आधारमा बिहीबार बिहान प्रहरीसहित पुगेर पसलमा छापामारी गर्दा उक्त परिमाणमा भ्याक्सिन फेला परेकाले मेडिकल सञ्चालक मण्डललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको हो । कोभिडविरुद्धको भ्याक्सिन फेला परेको सम्बन्धमा थप अनुसन्धान भइरहेको र दोषी पाइएकालाई कडाभन्दा कडा कारबाही गरिने मेयर बरबरीयाले बताए ।

नगरपालिकाको अनुगमन समितिले अनुगमन गर्दा ६ थान कोभिडविरुद्धको भ्याक्सिन फेला परेकाले मेडिकल सञ्चालकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *