आईफोन-१३ का चारवटा मोडलका विशेषता र मूल्य

मंगलबार राति एप्पल कम्पनीले आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज सार्वजनिक गरेको छ । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको दाबी गरेको छ ।

आइफोनका नयाँ मोडलबारे केही जानकारी:

एप्पलले सार्वजनिक गरेको आइफोन १३ सिरिजका चारवटा मोडलमा आईफोन १३ मिनी, आईफोन १३, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स रहेका छन् । आईफोन १३ मिनी र आईफोन १३ लाई भने एप्पलले एउटा श्रेणीमा राखेको छ भने आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्सलाई अर्को श्रेणीमा राखेको छ ।

आईफोन १३ मिनी र आईफोन १३
दुवै फोनमा एल्युमिनियम डिजाइन दिइएको छ भने मोडलको प्रोडक्टलाई रेड, स्टारलाइट, मिडनाइट, ब्लू र पिंक कलरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको डिस्प्लेमा सेरेमिक सिल्ड र पछाडि पट्टीको भागमा ग्लासको प्रयोग गरिएको छ । दुवै स्मार्टफोन १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा पाइनेछ भने यिनै अप्सनमा खरिद गर्न सकिने एप्पलले उल्लेख गरेको छ ।

यसमा ए-१५ बायोनिक चिपका साथै सिक्स कोर सीपीयू र ४ कोर जीपीयू दिइएको छ । यसलाई एप्पलले रेटिङसमेत दिएको छ । पूर्ण रुपमा वाटरप्रुफ सिद्ध भएका फोनलाई रेटिङ दिइने गरिन्छ । अर्थात् यी मोडलका फोनले ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने कम्पनीले दाबी गरेको छ ।

क्यामेरा
यी फोनको दुवै मोडलमा १२ मेगापिक्सलको डुअल रियर क्यामेरा दिइएको छ भने यसमा पहिलोले वाईड र दोस्रोले अल्ट्रा वाइड एङ्गललाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ । सेल्फीका लागि पनि १२ मेगापिक्सलको लेन्स दिइएको एप्पलले उल्लेख गरेको छ ।

भिडियो
एप्पलले यी मोडलका आईफोनमा सिनेम्याटिक मोड दिएको छ । यसमा फूल एचडीमा ३० फ्रेम प्रतिसेकेन्डमा रेकर्डिङ गर्न सकिन्छ । यस्तै एचडीआर भिडिओ रेकर्डिङ, फोरके डल्बी भिजन रेकर्ड पनि गर्न सकिने एप्पलले बताएको छ । यसका साथै टाइम ल्याप्स, नाइट मोड, भिडिओ रेकर्डिङका बेला ८ एमपी फोटो, प्लेब्याक जूमजस्ता विशेषता पनि पाइन्छ ।

ब्याट्री
आईफोनका यी दुवै मोडलमा १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआई वायरलेस चार्जिङ सपोर्ट गर्ने लिथियम आयन ब्याट्री पाइने एप्पलले जनाएको छ । एप्पलका अनुसार यी फोन २० वाटको एडप्टरबाट ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनसक्छ ।

मूल्य
आइफोन १३ मिनी १२८‚ २५६ र ५१२ जीबी भेरियन्टको मूल्य क्रमशः करिब १ लाख १२ हजार‚ १ लाख २८ हजार, १ लाख ६० हजार नेपाली रुपैयाँ पर्नेछ । त्यस्तै, आइफोन १३ को १२८, १५६, ५१२ जीबी आइफोन १३ को मूल्य क्रमशः करिब १ लाख २८ हजार, १ लाख ४४ हजार र १ लाख ७६ हजार रुपैयाँ पर्न आउँछ ।

आईफोन १३ प्रो र १३ प्रो म्याक्स
आईफोन १३ प्रोमा ६.१ ईन्च सुपर रेटिना एक्सडीआर ओलेड (XDR OLED) डिस्प्ले प्रोमोसन दिइएको छ भने आइफोन १३ प्रो म्याक्समा ६.७ ईन्च सुपर रेटिना एक्स डी आर ‌ओलेड (XDR OLED) डिस्प्ले प्रोमोसन दिइएको छ । यी दुवै मोडललाई गोलो आकारको डिजाइनमा बनाइएको छ ।

आईफोन १३ म्याक्स र प्रो म्याक्स दुवै फोनमा डिस्प्ले एचडीआर, वाइड कलर ( P3), ट्रू टोन र हेप्टिक टचलाई सपोर्ट गर्छ । यसमा फिंगरप्रिन्ट रेजिस्टेन्स ओलियोफोबिक कोटिङ दिइएको कम्पनीले बताएको छ ।

यी दुवै फोनलाई १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज अप्सनमा खरिद गर्न सकिनेछ । यसमा ए-१५ (A15) बायोनिक चिप दिइएको छ । यसका साथै यसमा सिक्स कोर सीपीयू र फोर कोर जीपीयू पनि दिइएको छ । यी आइफोन आईपी-६८ (IP68) रेटिङसहित आउने भएका हुन् । यो मोडलका फोनले ६ मिटर गहिरो पानीमा आधा घण्टासम्म काम गर्ने कम्पनीले दाबी गरेको छ ।

क्यामेरा
आईफोन १३ प्रो र प्रो म्याक्समा ३ वटा रियर क्यामेरा दिइएको छ । यी क्यामेरामध्ये पहिलोले टेलिफोटो, दोस्रोले वाईड र तेस्रोले अल्ट्रा वाइड एङ्गल सपोर्ट गर्ने कम्पनीले बताएको छ । दुवै मोडलमा १२ मेगापिक्सलको ट्रिपल रियर क्यामेरा जडान गरिएको छ । त्यस्तै फ्रन्ट क्यामेरामा १२ मेगापिक्सेलको लेन्स दिइएको छ ।

भिडिओ
यी दुवै स्मार्टफोनमा भिडिओग्राफीका लागि यसमा सिनेम्याटिक मोड पाइनुका साथै फूल एचडी (1080p) मा ३० फ्रेम प्रतिसेकेन्ड रेकर्डिङ गर्न सकिने एप्पलको दाबी छ । यस्तै, एचडीआर भिडिओ रेकर्डिङ, ४-के (4K) डल्बी भिजन रेकर्डिङ गर्न सकिनेसमेत एप्पलले जनाएको छ । त्यस्तै नाइट मोड‚ टाइम ल्याप्स, प्लेब्याक जूमजस्ता विशेषता पनि पाइने कम्पनीले उल्लेख गरेको छ ।

ब्याट्री
आईफोन १३ प्रो र प्रो म्याक्समा १५ वाटको मेगसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआई वायरलेस चार्जिङ सपोर्ट गर्ने लिथियम आयन ब्याट्री पाइने कम्पनीले जनाएको छ । एप्पलका अनुसार २० वाटको एडेप्टरबाट ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनेछ ।

मूल्य
आइफोन १३ प्रोको १२८ जीबी, १५६ जीबी, ५१२ जीबी र १ टीबीको मूल्य क्रमशः करिब १ लाख ९२ हजार, २ लाख ८ हजार, २ लाख ४० हजार, २ लाख ७२ हजार नेपाली रुपैयाँ पर्न आउँछ भने आइफोन १३ प्रो-म्याक्सको १२८ जीबी, २५६ जीबी, ५१२ जीबी, १ टेरबाईटको मूल्य क्रमशः करिब २ लाख ८ हजार, २ लाख २४ हजार, २ लाख ५६ हजार, २ लाख ८८ हजार नेपाली रुपैयाँ पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *