भीम रावल र लेखराज भट्ट दुवैले गरे प्रदेश इन्चार्जको दाबी

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्टबीच सुदूरपश्चिममा टकराव देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट भएको घोषणा गरेपछि एक दिनको फरकमा सुदूरपश्चिम पुगेका दुई नेताबीच इन्चार्जकै विषयमा टकराव देखिएको हो ।

दुवै नेताले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश ईन्चार्ज वा संयोजक भएको दाबी गरेका छन् । मंगलबार भट्टले कञ्चनपुर पुगेर पार्टीको इन्चार्ज आफू भएको बताए भने रावलले कैलालीमा पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको सुदूरपश्चिम संयोजक आफू भएको दाबी गरे ।

कैलालीमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले पार्टी १० बुँदे सहमतिअनुसार अगाडि बढिसकेकाले आफू सुदूरपश्चिमको संयोजक भएको बताए । एमालेमा २०७५ जेठ २ अघिको अवस्थामा प्रदेशमा इन्चार्ज नभएर संयोजकको संरचना थियो । सोही संरचनाअनुसार रावलले आफू प्रदेशको संयोजक भएको बताएका हुन् ।

उता प्रेस चौतारी नेपालले कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखराज भट्टले एकीकरणसहितको नेकपा एमालेको इन्चार्ज आफू भएको दाबी गरे । उनले भीम रावल सहजीकरण कार्यदलको संयोजकको भूमिकामा रहेको र आफूहरूबीच कुनै मतभेद नभएको बताए । उनले अध्यक्ष ओलीले नै जिम्मेवारी बाँडफाँट गरेको बताए ।

‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा भनेर बैठकमै अध्यक्ष ओलीले भन्नुभएको छ,’ उनले भने, ‘रावललाई उपाध्यक्षको हैसियतमा सहजीकरण कार्यदलको नेतृत्व गर्ने र देखिएका समस्या समाधान गर्ने भनिएको छ ।’ उनले सुदूरपश्चिम प्रदेश ईन्चार्जको विषयमा रावल र भट्टबीच मतभेद छ भनेर प्रचारबाजी भइरहेको भन्दै त्यसको खण्डन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *