अमेरिकामाथि नेपालको ५ विकेटको जीत, कुशल र रोहितको अर्धशतक

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो ।

२३१ रनको लक्ष्य नेपालले एक ओभर बाँकी हुँदा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै रोहित पौडेल ६२ रनमा नटआउट रहे । यस्तै विनोद भण्डारीले ३७, आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए ।

ओपनर कुशलले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक पनि बनाए । ८४ रनमा आउट हुनु अघि उनले ९३ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।

कुशल एकै पालीमा सबैभन्दा धेरै रन बनाउने ओपनर पनि बनेका छन् । समग्रमा भने कुशलले आज बनाएको रन एकदिवसीयमा नेपाली खेलाडीले बनाएको तेस्रो धेरै हो । २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहितकुमार पौडेलले केहि दिन अघि पीएनजीसँग ८६ रन बनाएका थिए ।

आसिफ र कुशलले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै नेपाली टिमको जीतको आधार तयार गरेका थिए ।

टिमको स्कोर ९३ रन हुँदा नेपालले दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्रको विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि कुशल र रोहितले ५१ रनको साझेदारी गरेका थिए । कुशल मल्ल भने १ रनमै आउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले नौ विकेट गुमाएर २३० रन बनाएपछि नेपालले २३१ रनको लक्ष्य पाएको हो ।

नेपालका विक्रम सोब, सुशन भारी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्लले १ विकेट लिए ।

अमेरिकाका मोनाङ्क पटेलले १ सय रन बनाएका थिए ।

सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा भोली मंगलबार घरेलु टिम ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *