गण्डकीका ६ लाखले पाए कोभिडविरुद्धको खोप

पोखरा । गण्डकीका ६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप पाएका छन् । अहिलेसम्मको तथ्याङ्क हेर्दा ६ लाख १० हजार ४ सय ३० जनाले पहिलो डोज खोप पाएका छन् । तीमध्ये ४ लाख ५३ हजार ८ सय ९७ लाई दोस्रो डोज पनि दिइएको छ ।

सबैभन्दा बढी भेरोसिल खोप दिइएको छ । २ लाख ८७ हजार २७ जनाले पहिलो डोज भेरोसिल लगाएकोमा २ लाख ११ हजार ९ सय ५१ ले दोस्रो डोज खोप पाएका छन् । त्यसपछि कोभिशिल्ड लगाइएको छ । कोभिशिल्ड पहिलो डोज लगाउनेहरू १ लाख ८६ हजार ४ सय ६५ र दोस्रो डोज लगाउनेहरू १ लाख ३८ हजार १ सय १४ जना छन् । कोभिशिल्ड पहिलो डोज लगाएर दोस्रो डोज नपाउनेहरूलाई एस्ट्राजोनको खोप दिइएको छ । ८८ हजार ५ सय ३ जनाले एक्स्ट्राजोनको खोप लगाएका छन् ।

एउटा मात्रै खोप लगाए पुग्ने जान्सेन पनि १ लाख ३ हजार ८ सय ३२ जनाले पाएका छन् । जिल्लागत रुपमा कास्कीका सबैभन्दा बढी १ लाख १ हजार ९ सय ४३ जनाले पहिलो डोज र ४७ हजार ४ सय ४३ जनाले पूरा डोज पाएका छन् । मनाङ र मुस्ताङका सबै नागरिकले खोप पाइसकेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार करिब २५ प्रतिशत नागरिकले पहिलो डोज खोप पाएका छन् ।

गण्डकीमा हाल १ हजार ७ सय २८ जना सक्रिय संक्रमित छन् । हालसम्म ३ लाख २१ हजार ४ सय ६४ जनाको परीक्षण गरिएकोमा ८३ हजार ५ सय १ जना संक्रमित भएका छन् । तीमध्ये ८० हजार ४ सय ४१ निको भएर फर्किएका छन् भने १ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ ।

दैनिक डेढ सयभन्दा बढी संक्रमित अहिले पनि फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *