प्रदेश १ : नेकपा एसको दलको नेतामा राई, सरकारलाई समर्थन नगर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार (आज) बसेको संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको हो । सांसद उपेन्द्र घिमिरेले भने, ‘उहाँ (राई) लाई संसदीय दलको नेतामा चयन गरिएको छ ।’

यस्तै बैठकले एमाले नेतृत्वको सरकारलाई समर्थन नरहेको समेत प्रष्ट्याएको छ । यसको जानकारी आजै प्रदेश सभा सचिवालयलाई दिने निर्णय भएको नेता घिमिरले बताए । प्रदेशमा १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए, जसलाई आइतबार निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेश सभामा बहुमत गुमाएको छ । बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

प्रदेश सभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *