नयाँ सरकार बन्छ, म मुख्यमन्त्री बन्छु : राजेन्द्र राई

काठमाडौं । केन्द्रीय राजनीतिमा भएको ‘अदलबदलपूर्ण’ अवस्थाका कारण प्रदेशहरुमा समेत सरकार फेरिने क्रम जारी छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र माधवकुमार नेपाल–झलनाथ खनाल (यो समूहले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएको छ ।) को गठबन्धनबाट नयाँ सरकार बनेपछि प्रदेशहरुमा समेत सोही गठबन्धनअनुसारको सरकार बनाउने कसरत भइरहको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा केन्द्रीय गठबन्धनअनुसारको प्रादेशिक सरकार बनेपछि अन्य प्रदेशमा समेत सरकार फेर्ने कसरत भइरहेको छ । यो शृङ्खला अहिले प्रदेश नं. १ मा पुगेको छ । प्रदेश नं. १ मा अहिले एमालेकै नेतृत्वमा सरकार छ ।

खासगरी नेपाल–खनाल छुट्टिएपछि कमजोर बनेको एमालेको प्रदेश नं. १ को अहिलेको सरकार ढल्ने पक्कापक्कीजस्तै भएपनि नयाँ मूख्यमन्त्री को बन्ने भन्ने कुरा भने तय हुन सकेको छैन । यसपछि प्रदेशमा दर्ताको प्रक्रियामा रहेको नेपाल–खनाल समूहको नेकपा (एकीकृत समाजवादी) को सरकार बनाउने कोसिस गठबन्धनले गरिरहेको छ । जसअन्तर्गत प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा अगाडि बढाउने गठबन्धनको तयारी छ ।

नेता राई सरकार फेरिने पक्काजस्तै रहेको र आफू मुख्यमन्त्री बन्ने बताउँछन् । ‘प्रदेशमा नयाँ सरकार त बन्छ नै,’ नेता राईले मकालुखबरसँग भने, ‘त्यसपछि गठबन्धनअनुसारको सरकार बन्ने र सरकारको नेतृत्व गर्ने जिम्मा हाम्रो दलले पायो भने मुख्यमन्त्री बन्ने मै हुँ ।’

गठबन्धनमा रहेको दलहरुमध्येमा प्रादेशिक सरकारको पालो पनि आफ्नो दलकै रहेको नेता राई बताउँछन् । गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी, समाजवादीलगायतका प्रादेशिक सरकारहरु भएको र एकीकृत समाजवादीको नभएको बताउँदै नेता राईले प्रदेश नं. १ मा एकीकृत समाजवादीकै सरकार बन्नुपर्ने बताउँछन् । ‘अब सरकार बन्ने पालो हाम्रै हो,’ राईले भने, ‘अरु दलहरुको अन्य प्रदेशमा सरकार छ । शक्ति सन्तुलन मिलाउँदै जाने सरकार बनाउने गठबन्धनको स्पीरीट् हो ।’

प्रदेशमा एमालेले भने भीम आचार्यलाई अगाडि बढाउने तयारी गरेको छ । सोअनुसार आचार्यले नेपालसँग पनि सहयोग मागेका छन् । यद्यपि नेपालले ‘सकारात्मक जवाफ’ नदिएको श्रोतले बनाएको छ । आचार्य सोमबार (आज) बिहान नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । ‘मलाई सहयोग गर्नुपर्यो’ भन्दै कोटेश्वर पुगेका आचार्यलाई नेपालले ‘राजनीतिक कोर्ष फेरिएको छ । हुन्छ भन्न सक्दिनँ’ भन्ने जवाफ फर्काएका थिए ।

एमालेमा नेपाल-खनाल पक्षका नेताका रुपमा चिनिएका एमाले सचिवसमेत रहेका आचार्य पछिल्लो समय मध्यमार्गी कित्तामा छन् । उनले एमाले एकताको विकल्प छैन भन्दै आएका छन् ।

असार २८ गतेको सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले साउन ३ मा सदनबाट विश्वासको मत लिँदा ‘एमाले विभाजन गर्न खोजियो’ भनेर अभिव्यक्ति दिएका आचार्यसँग नेपाल पछिल्लो समय असन्तष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *