असोज १ गतेदेखि खुल्लान् काठमाडौँका विद्यालय ?

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेसँगै विद्यालय खोल्ने तयारी गरिएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्नु राम्रो भए पनि अहिले विद्यालय खोल्ने बेला भएको छ कि छैन वा यो निर्णय कति बुद्धिमत्तापूर्ण हो भनेर बहस सुरु भएको हाे ।

कम्तीमा दसैँ तिहारपछि विद्यालय खोल्ने निर्णय गर्नु जायज हुने भए पनि प्रशासनले विद्यालय सञ्चालकको दबाबका आधारमा विद्यालय खोल्न दिएको भन्दै अभिभावक रुष्ट छन् । उनीहरूले विद्यालय खुले पनि आफ्ना बालबालिका विद्यालय नपठाउने बताइरहेका छन् ।

अभिभावक सङ्घले पनि यो निर्णय गलत भएको बताएको छ । जनस्वास्थ्यविदहरुले पनि अहिल्यै हतार नगर्न सुझाव दिइरहेका छन् । अहिले पनि दैनिक १ हजारदेखि १५ सयको सङ्ख्यामा नयाँ कोरोना सङ्क्रमित भइरहेका छन् । शुक्रवार मात्रै ११ सय ४६ जना नयाँ सङ्क्रमित थपिएका थिए । अर्कातिर कोरोनाको नयाँ लहर चल्न सक्ने चेतावनीहरू प्नि आइरहेका छन् ।

यस्तो अवस्थामा हतारिँदै विद्यालय खोल्न नहुने अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताए । थोरै विद्यार्थी हुने क्षेत्रमा सतर्कताका साथ विद्यालय खोले पनि सहरी क्षेत्रमा अझै विद्यालय खोल्ने अवस्था भई नसकेको उनको भनाई छ ।

भाइरसविद् वासुदेव पाण्डेको पनि विद्यालय खोल्न हतार गर्न नहुने तर्क छ । अहिले देखा परेको डेल्टा र डेल्टा प्लस भेरियन्टको सङ्क्रमणको जोखिम बालबालिकामा झन् धेरै देखिएको जानकारी दिँदै १८ वर्ष मुनिका बालबालिकाले खोप समेत नलाएको भएर विद्यालय अहिले खोल्न नहुने पाण्डेको सुझाव छ । १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूको लागि फाइजर तथा मोर्डना भ्याक्सिन योजना सम्पन्न भएपछि मात्र स्कुल खोल्नुपर्ने पाण्डेको भनाई छ । सङ्क्रमणको दर अझै २० देखि २५ प्रतिशतसम्म भएको यो अवस्थामा विद्यालय खोल्नु खतरापूर्ण हुने उनी बताउँछन् ।

तर, निजी विद्यालय सञ्चालकहरू भने विद्यालय खोल्नुपर्ने बताउँदै आएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनका अध्यक्ष टिकाराम पुरी तत्काल विद्यालय खोल्नुपर्ने बताउँछन् । अभिभावक सङ्घले भन्ने गरेको ‘दसैँ तिहारमा यसै पनि बिदा हुन्छ अहिले कोरोनामुक्त भौतिक पूर्वाधार तयारीमा लाग्नुपर्छ’ भन्ने तर्कलाई प्याब्सनले खण्डन गरेको छ ।

अध्यक्ष पुरीले मकालुखबरसँग भने- ‘हामीले पहिले पनि कोरोनाकै बेला विद्यालय सञ्चालन गरिसकेका छौँ । अनलाइनबाट हुनेखाने वर्गका ६० प्रतिशत विद्यार्थीले मात्र पढ्न पाउने भएकाले सबै वर्गकाले पढ्न पाउने गरी विद्यालय खोल्नुपर्छ । त्यसको सट्टामा दसैँ तिहारको बिदालाई छोट्याउन सकिन्छ । हामी तयार छौँ विद्यालय असोज १ गतेबाट सञ्चालन हुनपर्छ ।’

भौतिक रूपमा तयारी हुनेभन्दा पनि अभिभावक, विद्यार्थी र शिक्षकलाई तालिम दिएर विद्यार्थी सङ्ख्या र समयलाई आधार मानेर कक्षा सञ्चालन गर्नुपर्नेमा पुरीले जोड दिए ।  अभिभावक सङ्घका अध्यक्ष भण्डारी पनि केही समय पर्खिएर स्थितिको समीक्षा गरेर मात्र विद्यालय खोल्न गृह मन्त्रालय र प्रशासनलाई अनुरोध गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीले माथिल्लो निकायमा नै कुरा पुर्‍याएका छौ । स्वास्थ्य मन्त्रालयले पनि अहिले विद्यालय खोल्नु हुँदैन भनेको छ । यसरी अटेर भएमा नराम्रो स्थिति सिर्जना हुनसक्छ ।’

उता अभिभावकहरू भने अन्योलमा छन् । विद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने सूचना पठाएपछि आफूहरू तनावमा परेको अभिभावकले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *