कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

काठमाडाैँ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।

जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *