हामी सिकाइलाई प्रभावकारी बनाउदैछौँ : नेहा जोशी‚ प्रमुख सञ्चालन अधिकृत निमा एकेडेमी

३ वर्षदेखि सञ्चालनमा रहेको ई-लर्निङ प्ल्याटफर्म निमा एकेडेमीले सिकाइ र शिक्षण कार्यका लागि ‘कन्टेन्ट’ उपलब्ध गराउँदै आइरहेको छ । यो एकेडेमीले इन्टरनेटको सहायताबाट डिजिटल माध्यमको प्रयोग गरी सिक्ने र सिकाउने विषय प्रदान गरिरहेको छ । सिकाइका अन्तरक्रियात्मक सामग्रीहरू‚ जस्तै: लेख‚ रचनादेखि थ्रीडी एनिमेसन र भिडिओ गेमसमेत राख्ने गरिएको एकेडेमीले बताएको छ ।

बालबालिकालाई रमाइरमाई र बुझाइबुझाई पढ्न र पठाउन सहयोग गर्ने सामग्रीहरू शिक्षक, अभिभावक र विद्यार्थीका लागि उपयोगी रहेको एकेडेमीको दाबी छ । यसैबारेमा मकालुखबरकर्मी मनिषा पौडेलले निमा एकेडेमीका प्रमुख सञ्चालन अधिकृत नेहा जोशीसँग गरेको कुराकानीको सम्पादित अंश:

निमा एकेडेमीले अहिले के के गरिरहेको छ ?
निमा एकेडेमीको उद्देश्य भनेको नेपालभरि दिगो सिकाइ विकास गर्ने हो । त्यो बाहेक शिक्षामा सबैको पहुँच, शुलभ सिकाइ, शैक्षिक सामग्रीको समानुपातिक वितरण पनि हो । पाठ्यपुस्तकसमेत नपुगेका ठाउँमा पनि निमा एकेडेमी पुर्‍याउने भन्नुको मतलब हामीले तयार पारेका सामग्री पुर्‍याउने हो । हामीले हातहातमा शिक्षा भन्ने अवधारणालाई बोकेर हिँडेका छौँ ।

शहरी क्षेत्रमा हुने सिकाइ र ग्रामीण क्षेत्रमा हुने सिकाइबीचको भिन्नतालाई घटाउन पनि निमा एकेडेमीले काम गरिरहेको छ । हाम्रो कन्टेन्ट विद्यार्थीका लागि पनि प्रयोग गर्न सजिलो छ । त्योभन्दा बढी शिक्षकका लागि उपयोगी छ । समग्रमा भन्नुपर्दा सबैको लागि शुलभ र गुणस्तरीय शिक्षा दिन हामी प्रयत्न गरिरहेका छौँ ।

इन्टरनेटको पहुँच नपुगेका र पुगेका ठाउँमा पनि भरपर्दो इन्टरनेट नभएका ठाउँमा कसरी पुग्छ निमा एकेडेमी ? र त्यहाँका विद्यार्थी शिक्षक र अभिभावकले कसरी फाइदा लिन सक्छन् ?
सबै ठाउँमा पुग्ने हाम्रो अवधारणा हो । यसको लागि धेरै समय लाग्छ । हाम्रो देशको भौतिक पुर्वाधार राम्रो छैन । विद्यालयको अवस्था राम्रो छैन । त्यसैले हामी हाम्रो एप्लिकेसनमा अफलाइन कन्टेन्ट अर्थात् इन्टरनेट नभएर पनि पढ्न सकिने गरी व्यवस्था गर्दैछौँ । बिस्तारै हामी त्यसतर्फ योजना बनाइरहेका छौँ‚ तर यसका लागि केही समय लाग्छ ।

शिक्षकहरू नै प्रविधिसँग त्यति परिचित नभएको जस्तो देखिन्छ । निमाको सामग्री प्रयोग गर्न प्रविधिसँग परिचित हुनुपर्ने देखियो । त्यसलाई व्यवस्थापन गर्न के गर्नुभएको छ ?
यो हाम्रा लागि पनि अप्ठ्यारो नै थियो । त्यसैले हामीले २०१८ मा संस्था स्थापना भएदेखि नै शिक्षकहरूलाई प्रविधिसँग सम्बन्धित तालिम दिएका थियौँ । त्यतिबेला हामीलाई के महसुस भयो भने हाम्रा शिक्षकहरू प्रविधिको क्षेत्रमा निकै पछाडि छन् । शिक्षकको तुलनामा विद्यार्थी धेरै अगाडि पुगिसकेका रहेछन् । किनभने उनीहरूलाई इमेल, इन्टरनेट, मोबाईल फोनको प्रयोगबारे राम्रोसँग थाहा छ । शिक्षकहरूलाई भने प्लेस्टोरबाट एप्लिकेसन चलाउन जीमेल चलाउनसमेत गाह्रो भएको पाइयो । हामीले त्यो कुरालाई समेट्दै अघि बढ्यौँ । सन् २०२१ को यात्रा भनेको हाम्रा लागि पूर्णरुपमा सिकाइको यात्रा हो । हामीले ८२ ओटा विद्यालयका सबै शिक्षकलाई तालिम दियौँ । ईमेल प्रयोगबाट शुरु गरेर निमा एकेडेमीबाट कसरी पढाउने भन्नेसम्मको तालिम दियौँ । अहिले पनि जुन विद्यालयमा निमा एकेडेमीको कन्टेन्ट पढाइन्छ । त्यहाँका शिक्षकलाई हामी प्रत्येक हप्ता तालिम दिन्छौँ । काठमाडौँभित्र मात्रै नभएर बाहिरका शिक्षक जस्तैः ओखलढुङ्गा, नेपालगञ्ज, विराटनगर, इटहरीका शिक्षकलाई पनि हामीले तालिम दिएका छौँ ।

कोरोना महामारीका कारण सबैतिर भर्चुअल सिकाइ अपनाइयो । यसले निमा एकेडेमीको अवधारणालाई बुझाउँन अझ सजिलो बनाइदिएको हो ?
निमा एकेडेमी स्थापना भएर पब्लिकमा जान थालेकै बेला ठ्याक्कै कोरोना महामारी शुरु भयो । त्यसैले यो विगत दुई वर्ष हामीले धेरै कुरा सिक्ने र बुझ्ने अवसर पायौँ । हामीले योजना बनाउँदा निमा एकेडेमी र यसको सिकाइ प्रक्रियाबारे बुझाउन थोरैमा पनि ५ वर्ष लाग्छ भन्ने सोचेका थियौँ । तर‚ कोरोना महामारीले सबै शैक्षिक संस्था, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई हाम्रै अवधारणाअनुसार पठनपाठन गराउन बाध्य गरायो । यसले गर्दा माइन्डसेट गर्ने मौका भने हामीले पायौँ । हामीले त्यही बेला अब यत्तिकै बसेर हुँदैन सिकाइ प्रक्रिया अगाडि बढाउनैपर्छ । अर्को महामारी कुरेको जस्तो नगरौँ अहिले नै ई-लर्निङ सुरु गर्नुपर्छ भनेर बुझाउन सजिलो भयो ।

त्यसैले हामीले ५ वर्षपछि मात्र सम्भव ठानेको कुरा कोरोना महामारीले गर्दा दुई वर्षमै सम्भव भएको छ भन्दा फरक पर्दैन ।

भौतिक उपस्थिति र परम्परागत पद्दतिमा नै पढाउनुपर्छ भन्ने मानसिकता पनि अझै बलियो गरी रहेकै छ । ई-लर्निङबारे कसरी बुझाउनुहुन्छ ?
अनलाईन माध्यमबाट भन्दा प्रत्यक्ष भेटेर पढाउँदा धेरै प्रभावकारी हुन्छ भन्ने कुरामा सत्यता पनि छ । यसो गर्दा बुझ्नेले पनि सजिलै बुझ्छन् । तर‚ त्यही अनलाईन माध्यमबाट गरिने सिकाइ कार्यक्रमलाई पनि हामी अझ रचनात्मक र राम्रो बनाउन सक्छौँ । हो‚ त्यसका लागि निमाले काम गरिरहेको छ । त्यसैले हामीले विद्यार्थी र शिक्षकलाई एप्लिकेसन दिएका छौँ । त्यहाँबाट अचानक टेस्ट लिने, क्वीज खेलाउनेजस्ता कक्षामा गराइने रमाइला कुरा अनलाइनबाटै गराउन सकिन्छ । हाम्रो एप्लिकेसनमा त्यस्तै फिचर्स छ । त्यसैले यसका सकारात्मक पक्ष धेरै भएकाले बुझ्ने सबैले मन पराउनुहुन्छ । हामी बुझाउने कोसिस गरिरहेका छौँ । अर्कातिर प्रत्यक्ष कक्षामा गराउन नसकिने धेरै कुराहरू पनि गराउन सकिने गरी हामीले सामग्री तयार गरेका छौँ ।

तपाईँहरू नेपालभरि निमाको कन्टेन्ट पुर्‍याउँछौँ भन्नुहुन्छ । नेपालभरिका अभिभावक र विद्यार्थीले यो किन्न र धान्न सक्छन् त ?
यसलाई हामी सामान्य तरिकाले व्याख्या गर्न सक्छौँ । हामी डिजिटल एजुकेसन असाध्यै महङ्गो छ भनेर सोच्छौँ । केही हदसम्म सही पनि हुनसक्छ । किनभने शिक्षामा व्यापार गर्ने धेरै कम्पनीहरू छन् । तर‚ निमाको सन्दर्भमा भन्नुपर्दा हामी शैक्षिक गुणस्तरमा नै केन्द्रित छौँ ।

हामीले धनी, मध्यम र न्यून आय भएका सबै वर्गले एउटै कुरा र सामग्री पढुन् भन्ने उद्देश्य राखेका छौँ । निजी र सरकारी स्कूलमा पढ्दा जुन भिन्नता त्यसमा लाग्ने शुल्कमा हुन्छ त्यसलाई केन्द्रमा राखेर हामीले निमा एकेडेमीको सामग्री असाध्यै सुलभ मूल्यमा उपलब्ध गराएका छौँ ।

एक महिनाको लागि एउटा विषयको लागि जम्मा ५० रुपैयाँ तिर्दा हाम्रो ‘कन्टेन्ट’ उपलब्ध हुन्छ । ५० रुपैयाँ भनेको धेरै पैसा होइन‚ फेरि यो त शिक्षामा लगाइने रकम हो । एउटा अभिभावकले आफ्ना बच्चालाई घुमाउन लैजाँदा, राम्रो रेस्टुरेन्टमा खुवाउन लैजानुभयो भने एक हजार रुपैयाँ एकछिनमा सकिन्छ । त्यति त माध्यमिक तहको एक विद्यार्थीको एक वर्षको प्याकेज हो । त्यसैले यो महङ्गो छैन‚ हामीले हाम्रो मानसिकता परिवर्तन गर्न जरुरी छ ।

बजारमा धेरै ई–लर्निङका धेरै प्ल्याटफर्म छन्, निमा एकेडेमी नै किन रोज्ने त ?
हामीसँग सुरुवातदेखि नै धेरै विषयगत विज्ञ शिक्षकहरू हुनुहुन्छ । विज्ञान विषयमा ३० वर्षको अनुभव भएका लेखकहरूले हाम्रो कन्टेन्ट बनाउनुहुन्छ । लेख्नेमात्र नभएर शिक्षणको अनुभव भएका विज्ञ व्यक्ति हुनुहुन्छ । हाम्रा विज्ञलाई राम्रोसँग थाहा छ‚ कहाँ पुगेपछि बच्चालाई गाह्रो हुन्छ । कुन परिस्थितिमा पुगेपछि एउटा बच्चाले पढाएको कुरा बुझ्दैन भन्ने थाहा भएको विज्ञहरू हुनुहुन्छ । त्यसरी हामीले विषयवस्तुलाई सामान्यीकरण गर्ने काम समेत गर्छौँ । त्यही भएर हामीलाई रोज्नुपर्छ जस्तो लाग्छ । हामी पास हुनलाई मात्र पढ्ने होइन भन्ने कुरा पनि बुझाउन सक्छौँ । हामी थ्रीडी पिक्चरहरू उपलब्ध गराउँछौँ । यसबाट बुझ्न सजिलो हुनेमात्र होइन‚ समयको बचत पनि हुन्छ । हामीले राम्रो कटेन्ट बनाएको कुरामा ढुक्क छौँ । शुल्क पनि महङ्गो छैन । गुणस्तरीयतामा कुनै सम्झौता गरेका छैनौँ । हामीलाई रोज्नुपर्ने कारण यस्तै नै हुन् ।

ई–लर्निङका चुनौतीहरू के-कस्ता छन् ?
चुनौती नहुने कुनै क्षेत्र नै हुँदैन । कुनै पनि नयाँ काम गर्दा त्यहाँ अवसर र चुनौती दुवै हुने गर्छन् नै । हामीले धेरैजसो कुरालाई अवसरकै रुपमा लिएर अघि बढेका छौँ । शिक्षा पद्धतिमा काम गर्न लागेको संस्थाले चुनौती आएपनि त्योसँग लड्ने क्षमता राख्नुपर्छ । अहिले झन् यो महामारीपछि धेरै प्रतिस्पर्धा बढेको छ । हामी एउटा कुरामा गर्व महसुस गर्छौँ‚ किनभने यसलाई पनि हामीले अवसरकै रुपमा लिएका छौँ । हामीले ३ वर्ष लगाएर कन्टेन्ट बनाएका छौँ ।

पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका छौँ । त्यहाँबाट हामीलाई राम्रो प्रतिक्रिया पनि पाएका छौँ । हामीसँग भौतिक पुर्वाधार विकासको सबैभन्दा ठुलो चुनौती रहेको छ । यही काठमाडौँमा पनि प्रिन्सिपलको कोठामा इन्टरनेट चल्छ‚ तर ल्याबमा नेट चल्दैन । यो पनि एउटा चुनौतीकै विषय हो । हामीले यसलाई पनि सहज बनाउँदैछौँ । त्यसैले हामीले एप्लिकेसनमा डाउनलोड गर्न मिल्ने बनाएका छौँ । त्यसो गर्दा नेट चल्ने ठाउँमा डाउनलोड गरेर जतिबेला र जुनसुकै ठाउँमा निमाका सामग्री प्रयोग गर्न सकिन्छ ।

नेपाल सरकारको पाठ्यक्रम अपर्याप्त छ र ? यदि पर्याप्त नै छ भने निमाको ‘कन्टेन्ट’ किन किन्ने ?
नेपाल सरकारको पाठ्यक्रम असाध्यै राम्रो छ । हामीले पाठ्यक्रम विकास केन्द्रसँग अनुमती लिएर ‘कन्टेन्ट’ बेच्नुको कारण के हो भने‚ सरकारी स्तरमा पाठ्यक्रम लागू नै हुँदैन । हामीले त्यहिबीचको दरारलाई मेटाउने काम गरिरहेका छौँ । नेपाल सरकारको पाठ्यक्रम धेरै सरल पनि छ । त्यसैले हामीले सरकारको पाठ्यक्रमलाई नै आधार बनाएर ‘कन्टेन्ट’लाई ‘एडभान्स’ बनाउने काम गरिरहेका छौँ । हामी विद्यालयमा अथवा कुनै क्षेत्रमा मात्रै सीमित हुँदैनौँ । हामी एकेडेमिक करिकुलममा मात्र केन्द्रित रहँदैनौँ । रुचीअनुसारको शैक्षिक योग्यता हासिल गराउन हामी सहयोग गरिरहेका छौँ । हरेक दिन केही नयाँ सिक्नेले निमा एकेडेमीको प्ल्याटफर्ममा गएर पढ्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *