सभामुखको बचाऊमा पुनः

‘आचरणसम्बन्धी विषयमा बाहेक सभामुखको आलोचना गर्न पाइँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुन ‘अनन्त’ ले सभामुखको बचाऊ गरेका छन् । बुधबार (आज) बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पुनले भने, ‘आचारणसम्बन्धी विषयबाहेक अन्य कुरामा संसद्मा सभामुखको आलोचना गर्न पाइँदैन । यो चाहिँ संसदीय सर्वोच्चता हो । त्यो एमालेले तोड्यो ।’

बैठकको शुरुमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई ‘एमाले विभाजनको मतियार किन बन्नुभयो ?’ भनेर प्रश्न गरेका थिए । यसप्रति असन्तुष्टि जनाउँदै पुनले थपे, ‘विगतका विषयलाई उठाएर संसद्मै सभामुखको आलोचना गर्ने, गाली गर्नेजस्ता विषयहरुले संसद् नै नचल्ने अवस्थासम्म आउन सक्छ ।’

यस्तै पुनले एमाले सांसदलाई संसद् चल्न दिन आग्रहसमेत गरेका छन् । ‘संसद् चल्नुपर्छ,’ पुनले भने, ‘त्यसपछि जनताका विषयबारे बोल्नुपर्छ । म आग्रह गर्न चाहन्छु । एमालेका साथीहरुलाई । संसद् चल्न दिउँ । बरु जनताका समस्याहरुबारे बोलौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *