माधव भन्छन्ः

‘सर्वोच्चको फैसलाबमोजिम हामी पूरै वैधानिक छौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता माधवकुमार नेपालले एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो विषय भएको बताएका छन् । ‘उहाँहरु (एमाले सांसद) ले संविधान र कानूनको कुरा गर्नु नै पनि लाजमर्दो कुरा हो,’ बुधबार (आज) आह्वान गरिएको प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतको फैसलाबमोजिम हामी पूरै वैधानिक हौँ ।’

सर्वोच्चको फैसलाअनुरूप आफूहरुमाथि कुनै पनि खालको ह्वीप नलाग्ने स्मरण गराउँदै नेपालले थपे, ‘सर्वोच्चको फैसलाले नै हामीलाई कुनै खाले ह्वीप नलाग्ने भएको छ । हामीलाई रोक्ने एमाले को हो र ?’

बिहान बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर नयाँ दल एकीकृत समाजवादी दर्ता गराएका नेपालसहितका १४ जना सांसदलाई संसद् बैठकमा प्रवेश दिइए बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए । सोहीअनुसार एमालेले बैठकसमेत अवरुद्ध गर्यो ।

यसअघि पार्टी विधान उल्लङ्घन गरेको भन्दै एमालेले नेपालसहितका १४ जना सांसदलाई कारबाहीका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको थियो । तर, सभामुख सापकोटाले पछि उनीहरुलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको भन्दै कारबाही रोकेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *