चाडपर्व सुरक्षित रुपमा कसरी मनाउने ?

भाइरोलजिष्ट डा. श्रवणकुमार मिश्र भन्छन्- ‘विशेष सावधानी आवश्यक छ’ 

काठमाडौँ । धमाधम चाडपर्व आउँदै गर्दा कोरोनाको जोखिमपूर्ण अवस्था हटिसकेको छैन । चाडपर्बका बेला आउजाउ गर्ने र भेला हुने क्रम अरु समयमा भन्दा धेरै हुने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् । मानिसको चहलपहल बढी हुने यो समयमा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भाइरोलोजिस्ट डा.श्रवणकुमार मिश्रको आग्रह छ । कोरोना संक्रमण केही घटे पनि निर्मूल नभएकोले चाडपर्व मनाउँदा र यात्रा गर्दासम्म विशेष सावधानी दिनुपर्ने उनको सुझाब छ । यसबारेमा डा. मिश्रसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी :-

कोरोना सामान्य नभएको यो अवस्थामा चाडपर्वहरु सुरक्षित तरिकाले कसरी मनाउन सकिन्छ ?
कोरोना भाइरसको संक्रमण घटेको देखिए पनि कोरोना महामारी पूर्ण रुपमा सकिएको भने छैन । अहिले पनि विश्वभरि नै फैलिरहेको छ । नेपालमा हरेक ठाउँमा त्यस्तै छ । कोरोनाको केही मात्रा मात्र घटेको हो । यो भन्दैमा हामीले हेल्चेक्र्याइँ गर्नु हुँदैन । जनस्वास्थ्यका मापदण्डहरू अपनाएर हाम्रो रीतिरिवाजका चाडपर्वहरू मनाउनु पर्दछ । जसले गर्दा संक्रमण फैलिन नपाओस् । चाडपर्व मनाउँदा पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, बाहिरबाट घरमा छिरेपछि साबुन पानीले हात धुने  दूरी कायम गर्ने जस्ता सावधानी अपनाएर मात्रै चाडबाड मनाउनुपर्छ । भिडभाडमा नजाने तथा भिडभाड नगर्ने कुरामा सचेत हुनुपर्छ । अनि आफ्नो पालोमा आएको भ्याक्सिन जुन प्राप्त हुन्छ त्यही लगाउने, हातबाट धेरै कुरा गरिने भएकाले हातको सरसफाइमा विशेष ध्यान दिने जस्ता कुरा पालना गर्नुपर्छ । अनावश्यक रुपमा हातलाई अनुहारको वरिपरि लानु हुँदैन ।

सुरक्षित तरिकाले कसरी यात्रा गर्ने ?

हामी कोहीकोहीको निजी सवारीसाधन भए पनि सबैको हुँदैन । लामो यात्रा गर्दा सार्वजनिक सवारीमा यात्रा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा विशेष सावधानी अपनाउन जरुरी छ । यात्रा गर्ने क्रममा हामीले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने,  मास्क, स्यानिटाइजर लगाउने र सम्भव भएसम्म दुरी कायम गरेर मात्र यात्रा गर्नुपर्दछ । यात्रा गरेर घर आइसकेपछि साबुन पानीले हातधुने, मास्क फेर्ने  जस्ता कुराहरु अनिवार्य रुपमा गर्नुपर्दछ ।

खानपानमा पनि ध्यान दिनुपर्छ कि ?
कोरोनामा खानपानले त्यति प्रभाव पार्दैन, विशेष गरी हामीले अनुहारको वरिपरि अथवा श्वासप्रश्वासको अनि हातको सरसफाइलाई धेरै ध्यान दिनुपर्दछ । कोरोना केही घटेजस्तो भएपनि पूर्ण रुपमा नहटिसकेकोले यसलाई ध्यान दिन एकदमै आवश्यक छ । विभिन्न किसिमका कोरोना भाइरसका नयाँ नयाँ प्रजातिका भेरिअन्टहरु देखा परेको स्थिति छ । अहिले देशभरि नै भ्याक्सिन लगाउने कार्यक्रमहरु चलिरहेका पनि छन् । यसमा राम्रो पक्ष के छ भन्दा हाम्रो शरीरमा एण्टीबडी छ की छैन भनेर राष्ट्रियरुपमा सर्भे भएको थियो । त्यो  सर्भेमा पनि एन्टीबडी नै तराईमा अलिकति बढी, पहाडमा त्यो भन्दा कम र हिमालमा झन् त्यो भन्दा कम देखिएको छ ।

त्यसकारण जहाँ जहाँ एन्टीबडीको मात्रा कम छ त्यो ठाउँमा संक्रमण बढ्न सक्ने सम्भावना बढी हुन सक्छ । पहिले तराईतिर घना बस्तीमा थियो भने अहिले त्यो हिमाल भेग र पहाडी भेगमा पनि केसहरु बढेको स्थिति छ । यसको मतलब हामीले के बुझ्न जरुरी छ भने अहिले कोरोना संक्रमण घटेको मात्रै हो यसलाई हामीले जनस्वास्थ्यका मापदण्ड अपनाएर अहिले पनि निरन्तरता दिनुपर्दछ । जबसम्म विश्व स्वास्थ्य सगंठनले कोरोना अन्त्य भएको घोषणा गर्दैन । तबसम्म हामीले सम्पूर्ण किसिमको सावधानीहरु अपनाउनु पर्दछ । अहिले दिएको भ्याक्सिन पनि पूर्णरुपमा यसले सुरक्षा गर्दैन । पुनः संक्रमण हुने र भइसकेको व्यक्तिमा पुनः संक्रमण हुने खालको अहिले पनि केही केसहरु भेटिएको हुनाले यी कुराहरुलाई हामीले विचार पुर्‍याउनु पर्दछ । र त्यही अनुरुपले चाडपर्व मनाउनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *