संसदबाट एमसीसी पास नगर्न विवेकशील साझाको आग्रह

काठमाडौँ । विवेकशील साझा पार्टीले एमसीसी कम्प्याक्ट सम्झौता संसदबाट पारित नगर्न आग्रह गरेको छ । मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै उक्त पार्टीले यस्तो आग्रह गरेको हो । सम्झौतामा नेपालको राष्ट्रिय स्वाभिमानमा गम्भीर आँच पुर्याउने केही प्रावधान रहेकोले हुबहु पास गर्दा त्यसले गम्भीर परिणाम ल्याउने उक्त पार्टीले बताएको छ ।

‘विवादित एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी अत्यन्त आपत्तिजनक अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ।’

एमसीसीको सम्झौता अध्ययनका लागि श्रीलंकामा जस्तै स्वतन्त्र विज्ञहरुको कार्यदल गठन गर्नुपर्ने वा सोझै खारेज गर्नु पर्ने उक्त पार्टीले माग गरेको छ ।

‘एमसीसी इण्डो प्यासिफिक स्ट्रटेजी (आइपीएस) को अङ्ग हो भनी अमेरिकी उच्च अधिकारीले नै अभिव्यक्ति दिएको परिप्रेक्ष्यमा अघिल्ला र वर्तमान सरकारले यसबारे सत्य तथ्य समयमै बाहिर ल्याउनुको सट्टा यसलाई अन्य विकास आयोजनाको जस्तै सामान्य अनुदान जसरी नै प्रस्तुत गर्नु आपत्तिजनक छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ सत्तामा रहँदा सम्झौता पारित गर्न लागि पर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने दलहरूको रवैयाले पनि यसमा पर्याप्त संशय थपेको छ।’

त्यस्तै, विदेशी सहयोगमा सञ्चालित परियोजनाबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले हालै जारी गरेको चेतावनीयुक्त वक्तव्यको विवेकशील साझा पार्टी भर्त्सना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *