सहज छैन नेपाललाई साफ च्याम्पियनसीप

काठमाडौँ । भारतसँगका दुई मैत्रीपूर्ण खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रदर्शन सुधार आएको दाबी गरे । उनले साफ च्याम्पियनसीप जित्ने दाबी गरेपनि गृह मैदानमा नेपालका दुई खेल हेर्दा दीर्घ रोगका रुपमा रहेको ‘फिनिसिङ’मा खास्सै सुधार देखिएन ।

नेपालले भारतसँग जुन गतिमा खेलेको छ‚ यसलाई भने नेपाली फुटबलमा केही सुधार देखिएको रुपमा भने लिनैपर्छ । तर यो सुधार दक्षिण एसियाको च्याम्पियन दाबी गर्ने गरिको हो भनिहाल्न भने सकिँदैन । गृह मैदानमा कम्तीमा एक खेलमा भारतलाई हराएको भए यो दाबीमा थप बल पुग्ने थियो ।

नेपाली टिममा प्रवेश पाएका तरुण खेलाडीले नयाँ लय र गति थपेका छन् । तैपनि प्रशिक्षक अलमुताइरीका लागि साफ च्याम्पियनसीप सहज भने छैन । किनपनि भने सुधार नेपाली टिममा मात्र भएको छैन‚ अरु देशको फुटबल टीम पनि स्वभाविक रुपमा बलियो बनेको छ ।

नेपालले भारतसँग खेलेका २१ मध्ये १८ खेलमा २ गोलभन्दा बढीको स्कोरमा नतिजा निस्किएको छैन । त्यसैले आइतबार भएको दोस्रो मैत्रीपूर्णमा नेपालसँग भारतको हार परम्परागतको निरन्तरताभन्दा फरक रहेन । ८ वर्षअघि नेपालले भारतलाई पराजित गर्दा २-१ ले पराजित गरेको थियो । आठ वर्षपछि नेपाल २-१ ले पराजित भयो ।

प्रशिक्षक अलमुताइरीले आफू साफ च्याम्पियनसीपमा केन्द्रित रहेको बताउँदै आएका छन् । यसका लागि उनले केही प्रयोग पनि गरिरहेका छन् । नयाँ खेलाडीलाई मौकादेखि स्ट्राइकीङ् लाइन अपमा पनि नयाँ नयाँ तालमेल मिलाउने कोसिस गरिरहेका छन् ।

त्यसो त नेपाललाई साफ च्याम्पियनसीप अघि सधैँको दाबेदारका रुपमा हेरिन्छ । तर प्रतियोगितामा भने नेपाल सधैँ निराश हुनुपरेको छ । सेमीफाइनलभन्दा अघि जान नसक्नु नेपालका लागि सधैँ दुर्भाग्य बनिआएको छ । यो पटक पनि नेपाल स्वाभाविक दाबेदार त हो । तर फुटबलको जित/हार नतिजामा देखिन्छ । भलै मैदानमा जतिसुकै राम्रो प्रदर्शन किन नहोस्‚ जित/हारको निर्णय फेरि पनि गोलले नै गर्ने हो ।

तसर्थ प्रशिक्षक अलमुताइरीले भनेजस्तै मैत्रीपूर्ण खेलको नतिजा बिर्सिन सकिएला नेपालको खेलले मन पनि अवश्य जितेको होला‚ तर फुटबलमा धेरैले भन्ने गरेको मनमात्र होइन‚ खेल पनि जित्नु नेपाली टिम र प्रशिक्षकका लागि चुनौती बनेर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *