काम नलाग्ने कागजबाट स्तरीय ब्लक

पोखरा । सन् २०१८ को एउटा रिपोर्टअनुसार पोखरामा बसोबास गर्ने प्रत्येक व्यक्तिले दैनिक सरदर करिब आधा केजी फोहोर उत्सर्जन गर्छन् । यस हिसाबले पोखरामा प्रतिदिन १ सय ८८ टन फोहोर निस्किन्छ । यसलाई वार्षिक हिसाब गर्दा ६८ हजार ६ सय २० टन हुन्छ । यो संख्या अहिले झनै बढेको छ ।

फोहोर बटुल्न पोखरा महानगरपालिकामा दैनिक ३२ वटा गाडी गुड्छन् । फोहोर संकलन र व्यवस्थापनका लागि पोखरा महानगरपलिकामा ८२ जना कर्मचारी छन् । बटुलेको फोहोर पोखरा १४ बाच्छेबुडुवाको ल्यान्डफिल साइटमा लगिन्छ । एकातिर ल्याण्डफिल साईट भरिने अवस्थामा पुगेको छ भने अर्कोतर्फ फोहोर व्यवस्थापन पोखराका लागि मुख्य चुनौतीको रुपमा देखा परेको छ ।

सहरी क्षेत्रका लागि फोहोर व्यवस्थापन निकै चुनौतीको विषय हो । सुविधाको खोजिमा गाउँ रित्तिएपछि त्यसको असर सहरले धान्नै नसक्ने गरी बढेको छ । पोखरा पनि त्यस्तै एउटा प्रमुख शहर हो । जतिजति मान्छेको चाप बढ्दै जान्छ‚ उतिउति फोहोर उत्सर्जन पनि बढिरहेकै छ ।

No description available.

त्यहि असरलाई मध्यनजर गरेर पोखराका युवाहरूले नकुहिने फोहोरको प्रयोगबाट ब्लकको उत्पादन गर्न थालेका छन् । पोखरा महानगरपालिका र युएनडीपीसँगको साझेदारीमा ग्रीन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीले त्यसको सफल परीक्षण गरेको हो ।

कम्पनीले ३ वर्षअघि देखि नकुहिने र काम नलाग्ने फोहोर व्यवस्थापनको अध्ययन गरेको थियो । २ वर्षअघि प्लास्टिककै प्रयोगले सडक पीच गरेर देखाएका उनीहरूले अहिले भवन र पर्खाल बनाउन आवश्यक पर्ने स्तरीय ब्लक निर्माण गरेका हुन् । सोही ब्लकबाट नमूनाको रुपमा शौचालयसमेत निर्माण गरिएको छ ।

यो प्रविधिको व्यवसायिक खपत हुन सके पोखराको फोहोर व्यवस्थापन निकै सहज हुने विश्वास छ । सामान्य ब्लकको तुलनामा केहि महङ्गो परेपनि वातावरणीय हिसाबले निकै सस्तो हुने खोजकर्ताहरू बताउँछन् । ब्लकमा एक प्रतिशतमात्रै प्लास्टिक प्रयोग गर्दा पनि १ किलो तौल घट्छ भने एउटै ब्लकमा ४० वटासम्म चाउचाउको खोल प्रयोग गर्न सकिन्छ ।

नगरपालिकाले सबै प्लास्टिकका फोहोर ब्लक कम्पनीलाई दिन सके फोहोर व्यवस्थापनमा सहज हुने र दीर्घकालीन समाधान निस्किन सक्ने कम्पनीका प्राविधिक विशाल बास्तोलाले बताए । ‘ल्याब परीक्षणमा राम्रो नतिजा आएपछि यूएनडीपीसँगको सहयोगमा डेमो पनि देखायौँ । झट्ट हेर्दा सानो काम देखिएपनि यसबारे विशेष नीति बनाउने हो भने यसले फोहोर व्यवस्थापनको क्षेत्रमा राम्रो भूमिका खेल्छ,’ उनले भने, ‘पोखराले यसको प्रयोग गरोस् ।’

No description available.

पोखराले फोहोर व्यवस्थापनकै लागि बर्सेनि ७ करोड रुपैयाँभन्दा बढी खर्च गर्छ । ल्यान्डफिल साइटका लोडर र डोजरको इन्धन तथा मर्मत, अरु गाडीको त्यस्तै खर्च एवं कर्मचारीको तलबमा यतिका रकम खर्च हुँदै आएको छ ।

महानगरले २०६४ सालदेखि फोहोर उठाएबापत शुल्क लिन थालेको छ । तर‚ शुल्क नलिई व्यवस्थापन गर्न नयाँ प्रविधिमा जानैपर्ने जानकारहरू बताउँछन् । ६ वर्षअघि फोहोरबाट बिजुली निकाल्ने परियोजनाबारे छलफल भएपनि त्यो कार्यान्वयनमा गएन ।

निर्वाहमुखी व्यवस्थापनलाई बायोग्याँस वा यस्तै ब्लकमार्फत् प्रतिस्थापन गर्न महानगरलाई चुनौति रहेको उपमेयर मन्जुदेवी गुरुङले बताइन् । ‘फोहोर व्यवस्थापन साह्रै टाउको दुखाइ बनिरहेको छ । धेरै विज्ञहरूसँग छलफल चलाइरहेका छौँ,’ उनले भनिन्, ‘खोज्दै जाँदा प्लास्टिकबाटै ब्लक बनाउन मिल्ने रहेछ । यसको प्रयोग बढाउन मैले सकेको पहल गर्नेछु ।’

प्लाष्टिकबाट बनेको ब्लक उत्तिकै गुणस्तरीय रहेको पोखरा महानगरपालिकाका जुनियर इन्जिनियर नेत्र तिमिल्सिनाले बताए । ‘अरु ब्लकभन्दा यो कमजोर छैन । यसमा दुईथरी फाइदा छ‚ एकातिर फोहोर व्यवस्थापन हुन्छ भने अर्कोतिर मात्रा मिलाउन सके अर्को ब्लकभन्दा गुणस्तर भएको ब्लक बन्छ,’ उनले भने, ‘यो अनुसन्धान पोखराका लागि निकै फलदायी छ । तर उनीहरूले सपोर्ट पाएका छैनन् ।’ पैसा कमाउनेभन्दा पनि रचनात्मक कामका लागि अनुसन्धानमा खटिएको बास्तोलाले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *