एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्जसहितका जिम्मेवारी तोकेको छ । अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले नेताहरूलाई पार्टीको विभिन्न जिम्मेवारी दिएको हो ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशिका (अपानी) मा उल्लेखभएअनुसार पार्टी अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पहिले नेकपाको स्थायी समितिम रहेकाहरुलाई एकीकृत समाजवादीले स्थायी समितिमा राखिएको छ । सोअनुसार स्थायी समितिमा खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् ।

यस्तै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । यस्तै केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।

यसैगरी प्रदेश नं. १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश नं. २ इञ्चार्जमा धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने, गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत् विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

यस्तै उपत्यका विशेष प्रदेश इञ्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्जमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल छन् । डा. पौडेलले प्रचार विभाग प्रमुखको पनि जिम्मेवारी पाएका छन् । श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

यसैगरी अदालत र निर्चाचन आयोगसम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलागायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको नेता मेटमणि चौधरीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *