१९ वर्षीया वडा सभापति स्वस्तिका भन्छिन्- ‘राजनीति फोहोर भनेर ढोकाबाटै फर्किनुहुन्न, भित्रै पसेर सफा गर्नुपर्छ’

राजनीतिमा युवाको प्रतिनिधित्व हुनैपर्छ

काठमाडौँ । स्वस्तिका महत, जो १९ वर्षमै कांग्रेस वडासभापतिमा निर्वाचित भएकी छन् । उनी शुक्रबार भएको अधिवेशनबाट दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ को सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

१९ वर्षमै कांग्रेसको वडा राजनीतिको कमान सम्हाल्ने ‘चुनौती’ लिएकी स्वस्तिका यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताउँछिन् ।  ‘वडा सभापतिमा निर्वाचित हुँदा निश्चय नै खुसी त लाग्ने नै भयो । यससँगै काँधमा राजनीतिक जिम्मेवारी पनि थपिएको छ । अब म जिल्ला, प्रदेश वा केन्द्रभन्दा पनि वडा/नगर कांग्रेसलाई नै कसरी चुस्त दुरूस्त रुपमा अगाडि बढाउने भन्नेबारे केन्द्रित हुनेछु,’ स्वस्तिका परिपक्व निष्कर्ष सुनाउँछिन् ।

स्वस्तिका सभापति बन्नुले कांग्रेस बूढापाकाहरुको मात्रै होइन भन्ने सन्देश त दिएको छ नै सँगै समग्र नेपाली राजनीतिमै नयाँ र सकारात्मक सन्देश दिएको छ । जिल्लाका कांग्रेस नेता तथा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी कांग्रेस र सिङ्गो राजनीतिमा युवा सहभागिता बढाउने उद्देश्यले नै स्वस्तिकालाई सर्वसम्मत गरिएको बताउँछन् । ‘कांग्रेसमा पाका मात्र नेतृत्वमा भए भनेर आलोचना पनि हुँदै आएको छ,’ भण्डारीले मकालुखबरसँग भने, ‘हामीले अल्लि फरक गरौँ भनेर यसो गरेका हौँ । यो चाहिँ उहाँ (स्वस्तिका) निर्वाचित भएको भन्ने मात्र विषय होइन, सिङ्गो कांग्रेसपङ्ति र नेपाली राजनीतिलाई नै एउटा उदाहरण हो ।’

घुमाउरो तरिकाले पार्टीको बचाऊ गर्दै स्वस्तिका थप्छिन्, ‘हाम्रो पार्टीले युवाहरु नेतृत्वमा देखिनुपर्ने नीति नै लिएको छ नि । त्यसो त म आउनुले राम्रो सन्देश दिएको छ नै ।’

आफू वडाकै कुनै पदमा रहनसक्ने भएपनि पार्टीपङ्ति र प्रतिस्पर्धीहरुकै सहयोग तथा चुनौती वहन गर्नुपर्छ भनेरै आफू सभापति बनेको स्वस्तिका बताउँछिन् । ‘पार्टीका मेरा अग्रजलगायत सबैको सहयोगले वडा सभापति भएकी छु । अब काम गर्न सकिनँ भनेर छुट पाउने अवस्था छैन । सकेसम्म राम्रो काम गर्ने र पार्टीलाई लोकप्रिय र बलियो बनाउने अठोट गरेकी छु,’ स्वस्तिका अठोट सुनाउँछिन् ।

राजनीतिलाई फोहोरी खेल भनेर युवाहरु राजनीतिको कुरै गर्न मन नपराउने बेलामा तपाईंलाई चाहिँ राजनीतिको के चिजले तान्यो ?  मकालुखबरको जिज्ञासामा स्वस्तिका भन्छिन्, ‘तपाईंले भनेजस्तै ठ्याक्कै पनि होइन नि । पछिल्लो समय युवामा राजनीतिक जागरुकता देखिन्छ । कांग्रेसकै कुरा गनुपर्दा पनि युवा नेतृत्वको खोजी र बहस भइरहेको छ, सबै भागेर मात्र त भएन नि ?’

राजनीति फोहोरी खेल हो कि होइन भन्ने आ–आफ्नो चिन्तनमा पनि भरपर्ने कुरा हो भन्ठान्छिन् स्वस्तिका । ‘राजनीतिलाई फोहोरी खेल भन्ने हो भने त्यसलाई सफा गर्ने चाहिँ कसले त ?,’ स्वस्तिमाको प्रतिप्रश्न छ ।

स्वस्तिका थप्छिन्, ‘मलाई चाहिँ राजनीति फोहोरी खेल हो भन्ने लाग्दैन । तर यदि यसो भन्ने हो भने पनि फोहोरलाई सफा गर्ने कसले त ? युवाहरु मिल्नुपर्यो । हामीहरुजस्तै धेरैजना मिलेर सफा गर्नुपर्यो । डर्टीबाट क्लीन गर्नुपर्छ । विकल्प यही नै त हो ।’

स्वस्तिकाको हरजवाफहरुले त्यो बताउँदैनन् कि, उनी भर्खर १९ वर्षकी हुन् । यद्यपि उनी राजनीतिक रूपमा निकै गफिन सक्षम छन् । त्यसो त युवाहरुलाई सही दिशमा लाने जिम्मा भने अग्र नेतृत्वकै हुने ठान्छिन् स्वस्तिका । ‘तपाईंको यो कुरा सुनेर युवाहरु राजनीतिमा आकर्षित होलान् त ?’ भन्ने प्रश्नमा स्वस्तिका सहज जवाफ दिन्छिन्, ‘मैले भन्दैमा उहाँहरुले मानिहाल्ने भन्ने त हुँदैन । यद्यपि एक युवा भएको नाताले के भन्छु भने— राजनीति खाली फोहोरी खेल होइन, यो विकासको धारा, समाजको बिम्ब र सामाजिक कार्य हो । राजनीति फोहोरी खेल हो, फोहोर भयो भनेर सबैजना पन्छेर मात्र त हुँदैन । कुनै घर फोहोर छ भन्दैमा फर्केर जाने होइन, आफैं भित्र छिरेर सफा गर्नुपर्छ । अब राजनीतिमा युवा प्रतिनिधित्व हुन अत्यावश्यक छ । यसका लागि युवाले युवाको प्रतिनिधित्व भएन भनेर हुँदैन । आफूले नै उम्मेदवार बन्ने र नेतृत्व लिने हिम्मत पनि गर्नुपर्छ ।’

स्वस्तिकालाई राजनीति सबैभन्दा अगुवा क्षेत्र भएकाले राज्यका हरेक क्षेत्रमा युवा र उनीहरुका कुरा स्थापित हुनुपर्छ भन्ठान्छिन् । भन्छिन्— ‘युवाले राजनीतिबाटै हस्तक्षेप गर्नुपर्छ । सबै कुरा ठिक हुँदै जान्छ ।’

समाज परिवर्तणको संवाहक राजनीति नै भएको ठोकुवा स्वस्तिकाको छ । ‘जसले जति गफ लाएपनि सामाजिक रूपान्तरणको संवाहक भनेको राजनीति नै हो,’ उनी भन्छिन्, ‘राजनीतिमा जोशिलो, फूर्तिलो र रहरलाग्दा युवाको प्रतिनिधित्व हुन अति आवश्यक छ । युवाहरु मिलेको खण्डमा केही असम्भव भन्ने हुँदैन । एकतामा बल हुन्छ । त्यो एकता, त्यो बलले सामाजिक न्याय र रूपान्तरण गर्न सम्भव छ ।’

आफूले सोही मान्यताका साथ राजनीतिमा लाग्ने अठोट लिएको उनी सुनाउँछिन् । आफूले जस्तै आफ्ना समकालीन युवाले जोखिमै लिनुपर्ने स्वस्तिकाको सुझाव छ । ‘हामी राजनीतिमा पाका नेतृत्व मात्रै देख्छौँ, तर त्यसलाई प्रतिस्थापन गर्न हामी तयार चाहिँ हुँदैनौँ । अब हामीले नै अलिकति जोखिम पनि लिएर अघि बढ्नुपर्ने बेला आएको छ ।

यो अवस्था कांग्रेसमा मात्र नभइ सबै दलमा हुनसके युवा सोच र चिन्तनले राजनीतिलाई हाँक्नेमा आफू विश्वस्त रहेको स्वस्तिमाको विश्वास छन् । ‘राजनीतिलाई युवाले हाँक्ने अवस्था आएपछि त समाज नै युवा चिन्तनमा अघि बढिहाल्छ नि, होइन र ?’ स्वस्तिका विश्वासका साथ बोलिन् ।

‘आसन्न महाधिवेशनमा युवाहरु पनि नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश’

कांग्रेस सचेतक पुष्पा भुसाल स्वस्तिकाको विजय कांग्रेस बुढापाकाहरुको मात्रै होइन, सबैको पार्टी हो भन्ने कुराको निशानी भएको बताउँछिन् । ‘उहाँ (स्वस्तिका) वडासभापति बन्नुभएको छ,’ सचेतक भुसाल भन्छिन्, ‘यो आफैंमा सकारात्मक पक्ष हो । यसले कांग्रेसमा पनि सबै उमेर समूहका नेतृत्वहरु छन् भन्ने सन्देश दिएको छ र कांग्रेसमा बुढापाकाहरु मात्रै नेतृत्वमा छैनन् भन्ने बताएको छ ।

यस्तै नेतृ डिला संग्रौलाको बुझाइ पनि यही नै छ । भन्छिन्— ‘नेपाली कांग्रेस पार्टीमा र समग्र राजनीतिमा नै सकारात्मक सन्देश गएको छ । यसले चाहिँ आसन्न १४औं महाधिवेशनमा युवाहरुसमेत नेतृत्व लिन तयार छन् भनेर सन्देश दिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *