विराटनगरमा दुई दिनमा ३३ ग्राहकको बिजुली काटियो, ६७ लाख असुली

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगरले बक्यौता असुलीलाई तिव्रता दिएको छ ।
लामो समयसम्म बक्यौता रहेका उपभोत्ताबाट बक्यौता असुल्नका लागि ताकेता गर्ने तथा विद्युत कटौती गर्ने कामलाई तीव्रता दिएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बुधबार र बिहीबार दुई दिन अभियान सञ्चालन गरेर नै बक्यौैता असुली गरेको हो । बुधबार र बिहीबार गरी दुई दिनमा ३३ जना ग्राहकको लाइन कटौती गरेको छ ।
ती ग्राहकबाट १ करोड ५३ लाख १ हजार ७९० रुपैयाँ असुल गर्नुपर्नेमा उनीहरूको लाइन कटौती गरी ६७ लाख ६० हजार ३७० रुपैयाँ असुल गरिएको विद्युत प्राधिकरण विराटनगरका प्रशासन अधिकृत भरत केसीले जानकारी दिए ।
उपभोक्ताले ६० दिनसम्म महसुल नतिरेमा प्राधिकरणले जुनसुकै बेला ग्राहकको लाइन काट्न सक्ने कानूनी व्यवस्थाअनुसार उपभोक्तालाई सचेत गराउँदै बक्यौताललाई असुल गरिएको प्राधिकरणले जनाएको छ ।









