हिमालपारि एमाले नफुट्ने, विश्वासपात्रले नै छोडे नेपालको साथ

पोखरा । नेकपा एमालेबाट फुटेर नयाँ दल बनेको नेकपा (एकीकृत समाजवादी) अहिले गङ्गठन विस्तारमा छ । प्रारम्भिक चरणमा जिल्ला स्तरीय कमिटी गठनलाई तीव्रता दिइएको छ । केन्द्रीय नेताहरुको टुङ्गो लागे पनि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पार्टी छान्ने समय भदौ २२ गतेसम्म दिइएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा गण्डकीमा विभाजनको प्रभाव निकै न्यून छ । विभाजन अघि समानान्तर समितिमा बसेर माधव नेपाललाई समर्थन गरेका नेताहरु अहिले एमालेमै अड्किएका छन् । केही जिल्लामा ओली पक्षीय नेताहरु नेपालतिर लागेका छन् भने अधिकांशमा नेपाल पक्षीय नेताहरु ओलीको पक्षमा खुलेका छन् ।

माधव नेपालको टिमबाट टिकट लिएर प्रदेशसभा सांसद बनेका बागलुङ अध्यक्ष इन्द्रलाल सापकोटा एमालेमै रहेको घोषणा गरे । अन्तिम अवस्थासम्म पनि माधवलाई साथ दिएकी मुस्ताङकी श्रीमाया थकाली, कास्कीकी सीता गिरी वली, नवलपुरका रवीन्द्र अधिकारी लगायतका नेताहरु एमालेमै रहे ।

तनहुँका सांसदद्धय कृष्णकुमार श्रेष्ठ र कलिला खान ओली समूहबाट नेपाल पक्षमा लागेका छन् । उनीहरु केन्द्रीय सदस्य बनेका छन् । यसबाहेक गण्डकीमा १० जना केन्द्रीय सदस्य छन् । कास्कीबाट तुलबहादुर गुरुङ, चुडामणि जङ्गली, श्रीनाथ बराल, दिलु पन्त, स्याङजाकी शर्मिला पौडेल, पर्वतका विजय गुरुङ, तनहुँका प्रतापलाल श्रेष्ठ र रेखा बस्याल केन्द्रीय सदस्य हुन् ।

स्याङजा गल्याङका मेयर भुपराज अधिकारी, पर्वत फलेवासका मेयर पदमपाणी शर्मा, गैंडाकोटका मेयर छत्र पौडेल लगायत नेताहरु पनि विभाजनको विरुद्ध उभिए । उनीहरु यसअघि समानान्तर गतिविधिमा सक्रिय थिए । पार्टी रोज्ने समय अझै बाँकी छ । तर विभाजन तिर नलाग्ने पक्काजस्तै छ ।

महाशिला अध्यक्ष राजु पौडेल र काठेखोला अध्यक्ष अमर थापालाई नेपाल समूहमा गणना गर्ने गरिए पनि अहिले उनीहरु कता लाग्ने भन्ने खुलेको छैन । गण्डकीमा एमालेले ३४ स्थानीय तह नेतृत्व गरेको छ । ३७ जना उपप्रमुखहरु छन् । एकाधबाहेक विभाजन विरुद्ध उभिए । प्रदेशसभाको ३६ र प्रतिनिधिसभाको १८ निर्वाचन क्षेत्रमध्ये माधव नेपाल समूहबाट गण्डकी प्रदेश सभामा एउटा मात्रै सिट जितेको हो । समानुपातिक पदमा कोही पनि माधव पक्षका छैनन् ।

माधव समूहको समानान्तर कमिटीको नेतृत्व गरेका नेताहरु पनि अहिले ओलीतिर लागे । बागलुङमा समानान्तर समितिको संयोजक इन्द्रलाल सापकोटाले साथ छोडेपछि सचिव लालबहादुर थापाको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।

तनहुँमा पनि शंकरनारायण श्रेष्ठको संयोजनमा बनेको समानान्तर कमिटी नै एकीकृत समाजवादीमा गाभिने तयारी छ । ८४ सदस्यीय कमिटीमा ३९ जना आफ्नो पक्षमा रहेको केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले दाबी गरे । लमजुङमा समानान्तर कमिटीका संयोजक रामबाबु अधिकारी नै एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बनेका छन् । उनको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी बनेको हो । तत्कालीन नेकपा एमालेको जिल्ला कमिटीबाट २ सदस्य मात्रै नेपालतिर लागेका छन् ।

स्याङ्जामा एमालेका उपसचिव रामचन्द्र भट्टराईको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । यो कमिटी समानान्तर कमिटी हो । तर समानान्तर कमिटीका केही नेताहरु पुरानै पार्टीमा फर्किएका छन् । १ सय ५३ सदस्यीय एमाले जिल्ला कमिटीको आधा संख्या आफूतिर भएको दाबी नेकपा एसको छ । तर विश्वास गर्ने आधार भने छैन । गोरखामा एमाले जिल्ला कमिटी उपाध्यक्ष यादव बस्नेतले नयाँ पार्टीको नेतृत्व गरेका छन् । उनको अध्यक्षतामा १ सय २१ सदस्यीय कमिटी घोषणा भएको हो ।

पर्वतमा मोती पौडेलको नेतृत्वमा नयाँ कमिटी घोषणा भएको छ । नेकपा एमालेकै नेतृत्व गरेका उनको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । तर एमालेका प्रभावशाली नेताहरु भने नयाँ पार्टी रोज्ने सम्भावना झिनो छ । यसअघि समानान्तर कमिटीको अध्यक्ष भक्त कुँवर र सचिव पदमपाणी शर्मा दुवैले नेपाल समूह छोडेका छन् ।

म्याग्दीमा पनि तत्कालीन समानान्तर कमिटीका अध्यक्षले साथ छोडे । बालकृष्ण सुवेदीलाई तत्कालीन समयमा समानान्तर कमिटीको नेतृत्व दिइएको थियो । उनले छोडेपछि कृष्ण विकको अध्यक्षतामा नयाँ कमिटी गठन गर्ने तयारी छ । नवलपुरमा शालिकराम भट्टराईको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी तयार भएको छ । तत्कालीन एमालेको १ सय ४५ जना जिल्ला सदस्यमध्ये ८ जना मात्रै नयाँ पार्टीमा लागेका छन् । मनाङ र मुस्ताङमा भने नयाँ पार्टी गठन हुने सम्भावना देखिँदैन । २०५४ सालको विभाजनमा पनि मुस्ताङ फुटेको थिएन । मनाङले यसपालि मुस्ताङलाई पछ्याउने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *