कमेडी च्याम्पियन र कमेडी

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले दोस्रो सिजनको विजेता पाउन अब धेरै समय बाँकी छैन । भोटमार्फत टप ४ प्रतियोगीको छनौट भइसकेको छ । टप ३ का लागि उत्कृष्ट ४ प्रतियोगीले आफ्नो आफ्नो प्रस्तुति दिएर भोट कुरिरहेका छन् ।

टप ४ मा परेका हिक्मत महरा, सन्तोष थापा, विक्की अग्रवाल र भरतमणि पौडेलले प्रस्तुति र भोटको मद्दतले शीर्ष ४ सम्मको यात्रा तय गरेका छन् । उनीहरूमध्येबाट एकजना विजेता बन्नेछन् । त्यसअघि उनीहरुमध्ये एकजना बाहिरिनेछन् र बाँकी तीन ‘फाइनालिस्ट’ बन्नेछन् । भरतमणि फाइनलमा पुगिसकेकाले बाँकी तीनमध्येबाट दुईजना अन्तिम तीनमा पुग्नेछन् ।

नेता र भोट
रियालिटी शोहरूमा भोटलाई मुख्य आधार मान्ने गरिन्छ । जसले आयोजकलाई पनि आर्थिक भरथेग गर्ने गरेको छ । प्रतिस्पर्धीहरूलाई भोट माग्न भने अनेकौँ तत्त्वले सहयोग गरिरहेको पाइन्छ । प्रतिभाभन्दा क्षेत्रीयता, जातीयतालगायतका आधारमा पनि मतदान हुने टिप्पणी हुने गरेको छ ।

कमेडी च्याम्पियनको शीर्ष ५ मा पुगेका प्रतिस्पर्धीलाई राजनीतिक नेताले नै समर्थन र भोट मागेको देखियो । विक्कीलाई भारतको सिक्किमका मुख्यमन्त्रीले भोट गर्न ५ लाख रुपैयाँ दिएको खबर आएको केही समयपछि भरतमणिका लागि उनको गृह जिल्लाका सांसद योगेश भट्टराईले सहयोग गरिरहेका छन् ।

गोरखाका थापालाई डा बाबुराम भट्टराईको समर्थन छ भने कञ्चनपुरका हिक्मत महरालाई माओवादी नेतृ बिना मगरले भोट गर्न आग्रह गरेकी छन् । शीर्ष ५ बाट बाहिरिएका स्याङ्जाका विकाश अर्याललाई एमाले नेतृ तथा पूर्वमन्त्री पद्मा अर्यालले भोट मागेकी थिइन् ।

भरतमणिको ‘क्यारिकेचर र स्किृप्ट’ र विक्कीको ‘कन्सेप्ट’
अघिल्लो साताको कार्यक्रममा विक्कीले गरेको ‘पेन्टोमाइम’ ले सामाजिक सञ्जालमा तरङ्ग पैदा गर्‍यो । यसले कार्यक्रमको प्रचार र टीआरपी पनि शायद अहिलेसम्मकै धेरै भएको हुनुपर्छ ।

उनले गरेको फरक प्रयोगलाई प्रतिक्रिया दिँदै ‘जज’ सन्तोष पन्तले भनेको ‘मैले त बुझिनँ‚ अरूले के बुझ्लान् ?’ लाई लिएर सञ्जाल प्रयोगकर्ता दुई भागमा बाँडिए । पन्तले नै कमेडी नबुझेको आरोप लगाउनेहरू धेरै देखिए भने केहीले कमेडीले जुनसुकै सर्तमा पनि हँसाउनुपर्नेमा विक्कीको त्यो प्रयोगले हँसाउन नसकेको तर्क गरे ।

यो पनि : विक्कीकोप्रयोग’ले ल्याएको तरङ्ग 

जे होस्‚ यसले कमेडी प्रतियोगितामा पेट मिचेर हाँस्ने वा कसैलाई गाली गरेर क्षणिक हासिमजाकमात्र गर्ने कि नयाँ विधा र प्रयोगलाई पनि मौका दिने भन्ने बहस सुरु भएको छ । विक्कीको प्रस्तुतिलाई अरु तीन ‘जज’ ऋचा शर्मा, मनोज गजुरेल र प्रदीप भट्टराईले नयाँ प्रयोग भन्दै प्रशंसा गरेका थिए ।

बेलायतबाट सुरु भएको ‘पेन्टोमाईम’ सङ्गीतमय माहौलमा प्रस्तोताले नबोली अभिनयको मात्र सहयोगले दर्शकलाई हँसाउने विधा हो । पश्चिमा देशहरूमा नयाँ वर्ष र क्रिसमसमा यस प्रकारको अभिनय हुने गर्छ । आधुनिक पेन्टोमाईममा गीत, थप्पड, नृत्य आदि पनि हुने गर्छ । यो विषय नेपालमा नयाँ नै हो । यही प्रकारको अभिनय गर्ने कलाकारको विषय समेटेर यसअघि चलचित्र ‘सेल्फी किंग’ निर्माण भएको छ । जसमा विपिन कार्कीको मुख्य भूमिका छ ।

विक्कीको कमेडी ‘हमजाएगा’का जोकहरूबाट प्रभावित देखिएको छ । सानो सानो विषय उठाएर उनी दर्शक हँसाउँछन् र हरेक पटक फरक प्रस्तुति दिन रुचाउँछन् । विक्की आफ्ना प्रस्तुतिहरुमा केही न केही नयाँ कन्सेप्ट गर्ने गरेको पाइन्छ । उनी स्वयंले ‘रिस्क’ लिएर पेन्टोमाईम गर्ने निर्णयमा पुगेको र यसले आफूलाई उपाधिबाट वञ्चित गरे पनि सहने उनको भनाइ थियो । भरतमणि र विक्की नै टप २४ देखि हालसम्म पनि चर्चामा रहेका र दर्शकले याद गरेका दुई नाम हुन् ।

भरतमणि क्यारिकेचरमा अब्बल हुन् । उनले यसअघि नै देश तथा विदेशका धेरै कार्यक्रम र गाईजात्रामा प्रस्तुति दिएका छन् । मनोज गजुरेलकै सहयोगमा रेडियो नाटक तथा विभिन्न कार्यक्रम गरिसकेको उनी स्वयंले बताएका छन् । उनको ‘डिस हान्ने’ भन्ने डाइलगले चर्चित भएको गोकुल बास्कोटाको क्यारिकेचरले च्याम्पियनमा उनलाई चर्चित बनायो । करिब डेढ वर्षयता अभ्यास गरिरहेको पूर्वयुवराज पारस शाहको क्यारिकेचरले उनलाई यसपटक समेत सोझै टप ३ को यात्रा गराएको छ । उनले गरेका संसद् र सांसदप्रतिको व्यङ्ग्यमात्र नभएर योगश भट्टराई, राजेन्द्र महतो र रामनारायण बिडारीलगायतको क्यारिकेचर पनि धेरै रुचाइयो । यसै पनि आम हास्यव्यङ्ग्य कलाकारले नरोजेका पात्र रोजेर र उनीहरूको दुरुस्त नक्कल गरेर उनी चर्चित बनिरहेका छन् । साथमा उनको हाँस्य चेत पनि राम्रो रहेको हास्य कलाकार र जजहरूले बताउँदै आएका छन् ।

गोरखाका प्रतिस्पर्धी सन्तोष थापा भने विक्की र भरतमणिको छायामा परेका हुन् कि जस्तो देखिन्छ । उनी यसअघि नेपाल प्रहरीको जागिरे थिए । शारीरिक समस्याका कारण उनले जागिर छाड्नुपर्‍यो । सानै उमेरमा वैदेशिक रोजगारमा गएका बाबु गुमाएका थापा आफू मनभरि पीडा बोकेर पनि हँसाउन लागिपरेका छन् । उनको ‘टिचेर’ (टिचर) क्यारेक्टर धेरै दर्शकले मन पराएका छन् । गतहप्ता समेत उनले ‘पानी’ जस्तो सानो लाग्ने विषयमाथि ‘अब्बल कमेडी’ प्रस्तुत गरेका थिए ।

यो पनि : नक्कल गर्दागर्दै ‘क्यारिकेचर’मा जमेका भरतमणि

अर्का प्रतियोगी हुन् कञ्चनपुरका हिक्मत महरा । उनी राजनीतिक विषयमा अब्बल मानिन्छन् । फरक विषयवस्तु र फरक प्रयास गर्दा दर्शक र जजले खासै मन नपराएपछि उनले आफ्नो पुरानै शैलीलाई अघि बढाएका छन् । पहिलो सिजनमा समेत आएका प्रतियोगी कैलाश कार्की र मनोरञ्जन क्षेत्रको विषयमाथि व्यङ्ग्य गर्ने सुन्दर खनाल दर्शकले मन पराए पनि भोट कम भएका कारण बाहिरिएका छन् ।

तुलनात्मक रूपमा हेर्दा पहिलो च्याम्पियनमा झैँ यस पटक दर्शक उत्साहित नभएको कुरा प्रहसनका क्रममा सहभागी र अतिथि प्रस्तोताहरूले पनि उठाउने गरेका छन् । सुरुबाटै पटक पटक उत्कृष्ट प्रस्तुति दिएर ‘पर्फर्मर अफ द डे’ बनेका विक्की र भरतको चर्चा अन्य प्रतिस्पर्धीको भन्दा बढी छ । बाँकीको नाम खासै दर्शकसम्म पुग्न सकेको छैन ।

नेपालमा पहिलो पटक कमेडी रियालिटी शो भित्र्याएको टिमले बालबालिकाका लागि समेत शो गर्दैछ । तर‚ जजहरूको छनोट र उनीहरूको कमेडी सेन्सका बारेमा भने समय समयमा प्रश्न उठ्दै आएको छ । विक्कीको पेन्टोमाईम प्रस्तुतिपछि यो प्रश्न अझ मुखर बनेको छ । कार्यक्रम निर्माताले साथीलाई जज बनाएको भन्ने आरोप त पहिलो संस्करणबाटै लाग्दै आइरहेकै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *